
कृष्णभिरको नयाँ ट्र्याकबाट ग्यास बुलेट काठमाडौं भित्रिन थाले

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोपछि निर्माण गरिएको नयाँ ट्र्याकबाट ग्यास बोकेका बुलेट काठमाडौं भित्रिन थालेका छन् ।
मंगलबार साँझ प्रहरीको स्कर्टिङमा नौ–दशवटा ग्यास बुलेट कृष्णभिरको नयाँ ट्र्याक हुँदै काठमाडौंका लागि पास भएका छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार तीमध्ये एउटा बुलेट धादिङस्थित सीताश्री ग्यास उद्योगका लागि आएको हो भने अन्य बुलेट कुन उद्योगका लागि हुन् भन्ने विवरण पुष्टि हुन बाँकी छ ।
साहका अनुसार मंगलबार गरिएको परीक्षणबाट नयाँ ट्र्याक हुँदै ग्यास बुलेट सञ्चालन गर्न सकिने देखिएको छ । बुधबार पनि केही बुलेटलाई सोही मार्गबाट परीक्षणका रूपमा ल्याउने तयारी गरिएको छ । बिहीबारदेखि भने पृथ्वी राजमार्ग हुँदै ग्यास बुलेटको नियमित आवागमन गराउने योजना रहेको उनले बताए ।
‘स्कर्टिङ गरी बुलेटहरू कृष्णभिरबाट पास गराइएको छ । परीक्षणका क्रममा सो बाटो हुँदै बुलेटहरू आउन सक्ने देखिएको छ,’ साहले भने, ‘बुधबार दिउँसो पनि केही संख्यामा ग्यास बुलेटहरू सोही बाटो हुँदै ट्रायलका रूपमा आउनेछन् । बिहीबारदेखि भने नियमित रूपमा पृथ्वी राजमार्ग हुँदै ग्यास बुलेट ल्याउने योजनामा छौँ ।’
ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले पनि मंगलबार राति केही ग्यास बुलेट नयाँ ट्र्याक हुँदै काठमाडौंका लागि प्रस्थान गरेको पुष्टि गरे । राति अबेरसम्म बुलेटहरू आउने क्रम जारी रहेकाले संख्या यकिन हुन बाँकी रहेको उनले बताए ।
नयाँ ट्र्याक सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा ग्यास आपूर्ति चाँडै सहज हुने घिमिरेको भनाइ छ । उनका अनुसार आगामी तीन–चार दिनभित्र बजारमा ग्यासको आपूर्ति सहज बनाउने गरी तयारी भइरहेको छ ।
‘अब तीन–चार दिनभित्रमै काठमाडौंमा ग्यास आपूर्ति सहज हुन्छ । ठूलो संख्यामा ग्यास बुलेटहरू काठमाडौं आउन तयार छन्,’ घिमिरेले भने, ‘बजारमा भएका खाली सिलिन्डर पनि छिटो भरेर पठाउनेछौँ ।’
उनका अनुसार इन्डियन आयल कर्पोरेसनबाट ग्यास आयातको परिमाणसमेत बढाइएको छ । सोमबार १३० र मंगलबार १३३ वटा ग्यास बुलेट लोड भएको उनले जानकारी दिए । आगामी दिनमा थप बुलेट लोड गर्ने सहमति भएकाले आपूर्ति व्यवस्थापनमा सुधार आउने उनको दाबी छ ।
गत १३ भदौमा कृष्णभिरमा पहिरो गएपछि धादिङ, काठमाडौं, ललितपुर र काभ्रेका ग्यास उद्योगमा ग्यास बोकेका बुलेट पुग्न सकेका थिएनन् । त्यसपछि काठमाडौं उपत्यकाको माग धान्न तराईका उद्योगमा सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं ल्याउने गरिएको थियो । तर, उक्त व्यवस्थाबाट बजारको मागअनुसार ग्यास आपूर्ति हुन सकेको थिएन ।
नयाँ ट्र्याकबाट ग्यास बुलेट सञ्चालन सुरु भएसँगै अब काठमाडौं उपत्यकाको ग्यास आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?
-
मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड
-
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
-
मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग
-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
२१ घण्टा अगाडि
850Views 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालयको सहमतिमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न…





