प्रहरी प्रमुखसँगको ‘निकटता’ देखाउन एआई तस्वीर बनाएर फेसबुकमा राख्ने युवक पक्राउ

झापा । सरकारी पदाधिकारीसँग आफ्नो निकट सम्बन्ध रहेको देखाउन सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्वीर कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तयार पारिएको खुलेपछि झापामा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्माले झापा प्रहरी प्रमुख बसुन्धरा खड्कासँग आफू निकट रहेको देखाउने उद्देश्यले एआईबाट तयार पारिएको तस्वीर फेसबुकमा सार्वजनिक गरेका थिए। तस्वीरमा प्रहरी प्रमुख खड्काले विश्वकर्मालाई बधाई तथा शुभकामना दिइरहेको देखिन्छ।
विश्वकर्माले गत असार २२ गते उक्त तस्वीर फेसबुकमा राख्दै आफूले प्राप्त गरेको सम्मानप्रति आभार व्यक्त गरेका थिए। सोही क्रममा उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचित भएको दाबीसमेत गरेका थिए।
तर, जिल्ला प्रहरी कार्यालय झापाले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त तस्वीर वास्तविक नभई एआई प्रविधिबाट सिर्जना गरिएको खुलेको जनाएको छ। प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा तस्वीरको प्रहरी कार्यालय वा कार्यालय प्रमुखसँग कुनै आधिकारिक सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
प्रहरीले विश्वकर्मालाई सोमबार चन्द्रगढीबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। सरकारी तथा राजनीतिक पदाधिकारीसँगको निकटताको झुटो परिचय देखाउँदै विभिन्न सरकारी कार्यालयमा पहुँच बनाउने तथा धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गर्दै विभिन्न सरकारी कार्यालयमा पुग्ने गरेका थिए। यही परिचयका आधारमा उनले सरकारी कार्यालय तथा सार्वजनिक सरोकारका बैठकमा समेत पहुँच बनाउने गरेको प्रहरीको भनाइ छ।
आफू प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएपछि जिल्ला प्रशासन कार्यालयबाट उनलाई सरकारी सवारीसाधनसमेत उपलब्ध गराइएको प्रहरी स्रोतले जनाएको छ। सोही सवारीसाधन प्रयोग गरी उनी विभिन्न सरकारी कार्यालयको अनुगमनमा जाने गरेको बताइएको छ।
हल्दिबारी गाउँपालिकालगायतका क्षेत्रमा पुगेर फर्किएपछि उनको गतिविधि शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको तथा प्रधानमन्त्रीको सचिवालयमा समेत नरहेको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विश्वकर्माको सामाजिक सञ्जालमा रास्वपाका नेताहरूसँग खिचिएका तस्वीर, पार्टीका महाधिवेशनसम्बन्धी गतिविधि तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका तस्वीरलगायतका सामग्री भेटिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुखसँगको भनिएको तस्वीरमा उपसभामुख रुवीकुमारी ठाकुरको समेत बधाईसहितको टिप्पणी देखिएको बताइएको छ। तर, प्रहरीका अनुसार त्यसको मूल तस्वीर नै एआई प्रविधिबाट सिर्जना गरिएको हो।
विश्वकर्माले फेसबुकमा आफूलाई रास्वपाको केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा प्रस्तुत गरेको सामग्रीसमेत राखेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक व्यक्तित्व, सरकारी निकाय वा पदाधिकारीको नाम, पद र छवि दुरुपयोग गरी भ्रम फैलाउने तथा सर्वसाधारणलाई दिग्भ्रमित पार्ने कार्य कानुनविपरीत हुने चेतावनी दिएको छ।
प्रहरीले विश्वकर्माले झुटो परिचय प्रयोग गरी कसैबाट लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए त्यससम्बन्धी जानकारी प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares