मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु

गोरखा । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी नेपाली नागरिक फुर्सेम्बा शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गतराति मनास्लु हिमालको तेस्रो शिविरमा उनीहरू सुतिरहेको पालमाथिबाट अचानक हिमपहिरो खसेको थियो। हिमपहिरोमा परी पालभित्रै करिब सात फिट हिउँले पुरिँदा दुवै जनाको मृत्यु भएको हो।

उनीहरू मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु हिमाल आरोहणका लागि गएका थिए। हिमपहिरोमा पुरिएपछि उद्धार प्रयास गरिए पनि दुवै जनालाई जीवितै निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव सोमबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares