आगामी साता नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ । नेपालमा आगामी साता भारी वर्षाको सम्भावना देखिएपछि मौसमविद्हरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बंगालको खाडीबाट विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले आगामी दिनमा यसको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्हरूको आकलन छ।
मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ। बंगालको खाडीबाट विकसित हुने प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुने अवस्था बनेमा नेपालका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
उत्तर अन्डमन सागर तथा आसपासको क्षेत्रमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली क्रमशः बलियो बन्दै जाने र त्यसको प्रभावले बंगालको खाडीमा मौसमीय गतिविधि बढाउने सम्भावना रहेको भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को विश्लेषण छ। उक्त प्रणालीका कारण नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिएमा वर्षाको मात्रा उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा आगामी दिनमा निकै ठूलो वर्षाको सम्भावना देखिएको बताएका छन्। उनले विभिन्न पूर्वानुमान मोडलको विश्लेषण गर्दा केही स्थानमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने संकेत देखिएको र कतिपय मोडलले ७४१ मिलिमिटरसम्म वर्षाको सम्भावना देखाएको उल्लेख गरेका छन्।
उनका अनुसार यस्तो अवस्था विकसित भएमा यसको प्रभाव गम्भीर हुन सक्छ। विशेषगरी पहाडी तथा हिमाली भूभागमा पहिरो, नदी तथा खोलानालामा आकस्मिक बाढी र सडक तथा पूर्वाधारमा क्षति पुग्ने जोखिम बढ्न सक्ने भएकाले समयमै सावधानी अपनाउनुपर्ने हुन्छ।
तर जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले अहिले नै नेपालमा कति मात्रामा वर्षा हुन्छ भनेर यकिन गर्न सकिने अवस्था नरहेको बताएका छन्। बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको स्वरूप र दिशा निरन्तर परिवर्तन भइरहने भएकाले त्यसको प्रभाव नेपालमा कति र कुन क्षेत्रमा पर्छ भन्ने अहिले नै निश्चित गर्न नसकिने उनको भनाइ छ।
उनका अनुसार न्यूनचापीय प्रणाली चक्रवातको स्वरूपमा विकसित हुन्छ वा हुँदैन भन्ने पनि अहिले नै स्पष्ट छैन। प्रणाली क्रमशः अन्य दिशातर्फ सर्दै गएमा नेपालमा यसको प्रभाव कम हुन सक्ने तथा चक्रवातका रूपमा विकसित भई त्यसको परिधि नेपालसम्म आइपुगेमा केही भूभागमा निकै ठूलो वर्षा हुन सक्ने सम्भावना रहन्छ।
मौसमविद् लामिछानेले भने, ‘न्यूनचापीय प्रणाली हरेक दिन फरक ढंगले विकास र परिवर्तन भइरहने भएकाले त्यसले कुन दिशातर्फ कति प्रभाव पार्छ भन्ने अहिले नै यकिन गर्न सकिँदैन। तर सचेत र सजग भने रहनुपर्छ।’
जल तथा मौसम विज्ञान विभागले उपलब्ध मौसम पूर्वानुमान प्रणाली तथा विभिन्न मोडलको विश्लेषणका आधारमा एक सातासम्मको मौसम प्रक्षेपण गर्दै आएको जनाएको छ।
मनसुन अझै सक्रिय रहेको, पछिल्ला दिनमा देशका विभिन्न भागमा वर्षा भइरहेको तथा विगतका वर्षमा समेत यस अवधिमा भारी वर्षाका कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेका घटनालाई ध्यानमा राख्दै मौसमविद्हरूले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
विशेषगरी नदी तथा खोलानालाको आसपास, पहिरोको जोखिम भएका पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिक तथा लामो दूरीको यात्रा गर्नेहरूले मौसमको पछिल्लो सूचना लिएर मात्रै यात्रा गर्न र सम्भावित जोखिमप्रति पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares