पार्टी, संसद् र सरकारबीचको सहकार्य प्रभावकारी बनाउन रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध थप सुदृढ बनाउँदै समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

आइतबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनवटै पक्षबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध बलियो बनाएर अघि बढ्न निर्देशन दिएको बताए।

बैठकमा पार्टीका नेता, सांसद तथा समर्थकहरूको अनुशासनका विषयमा समेत सभापति लामिछानेले निर्देशनात्मक धारणा राखेका थिए। पार्टीका गतिविधिलाई थप व्यवस्थित बनाउने तथा संगठनभित्र अनुशासन र जिम्मेवारीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको खरेलले जानकारी दिए।

त्यसैगरी, पार्टी संगठनात्मक गतिविधि तथा पार्टी र राज्यका विभिन्न संरचनाबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।

रास्वपाले पार्टी संगठन, संसदीय भूमिका र सरकार सञ्चालनबीच प्रभावकारी समन्वय कायम गर्दै अघि बढ्ने विषयलाई बैठकमा प्राथमिकताका साथ उठाएको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares