बंगालको खाडीमा चक्रवातको सम्भावना, बिहीबारदेखि चार दिन नेपालमा भारी वर्षाको चेतावनी

काठमाडौँ । बंगालको खाडीमा विकसित हुनसक्ने चक्रवात तथा न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालमा लगातार भारी वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्। प्रारम्भिक पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको मात्रा उल्लेख्य बढ्न सक्ने देखिएको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले उपलब्ध करिब आधा दर्जन मौसम पूर्वानुमान मोडेलले आगामी दिनमा नेपालमा वर्षा हुने संकेत गरेको बताएका छन्। उनका अनुसार मौसम प्रणाली छिटो सरेमा वर्षाको अवधि छोटिन सक्छ, तर अहिलेको अवस्थाले तीनदेखि चार दिनसम्म वर्षा हुनसक्ने सम्भावना देखाएको छ।

लगातार धेरै दिनसम्म भारी वर्षा भएमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले समयमै सतर्कता र पूर्वतयारी आवश्यक रहेको पोखरेलले बताए। उनका अनुसार केही पूर्वानुमान मोडेलले ५०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने संकेत गरेका छन्।

वर्षाको प्रभाव देशभर देखिन सक्ने भए पनि तीनवटा मौसम पूर्वानुमान मोडेलले लुम्बिनी प्रदेशमा विशेषगरी भारी वर्षाको सम्भावना देखाएकाले उक्त क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने पोखरेलको भनाइ छ।

उनका अनुसार भारतको उत्तरपश्चिम क्षेत्रमा मनसुन कमजोर हुँदै गए पनि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीलाई प्रभावित पार्न सक्छ। यस्तो अवस्थामा मौसम प्रणाली लामो समय एउटै क्षेत्रमा सक्रिय हुँदा नेपालमा भारी वर्षा हुने सम्भावना बढ्ने उनको भनाइ छ।

पोखरेलले हालसम्म बंगालको खाडीमा चक्रवात विकसित भइसकेको अवस्था नरहे पनि न्यूनचापीय प्रणालीकै कारण नेपालमा यसअघि पटक–पटक भारी वर्षा, बाढी, पहिरो र डुबानको अवस्था सिर्जना भएको स्मरण गराए। मनसुनको अन्त्यतिर हुने भारी वर्षाले यसअघि नै भिजेको जमिनलाई थप कमजोर बनाउने भएकाले जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्नुपर्ने उनले बताए।

सामान्यतया बंगालको खाडी क्षेत्रमा चक्रवातको गतिविधि मनसुन सकिएपछि अक्टोबरतिर बढी देखिने गर्छ। तर, यसपटक सेप्टेम्बरमै चक्रवात बन्ने प्रक्रिया देखिएकाले मौसमविद्हरूले विशेष निगरानी गरिरहेका छन्। चक्रवात भारतको भूभागमा प्रवेश गरे पनि त्यसबाट उत्पन्न हुने मौसमी प्रभाव नेपालसम्म आइपुग्न सक्ने मौसमविद्हरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागले पनि बंगालको खाडीमा चक्रवात विकास हुनसक्ने अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिलेको अवस्थाले चक्रवात बन्ने संकेत गरे पनि यसको प्रभावबारे तत्काल निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन।

‘अहिलेको अवस्था हेर्दा बंगालको खाडीमा चक्रवात बन्ने जस्तो देखिन्छ, तर अहिले नै केही भन्न सकिँदैन,’ लामिछानेले भने, ‘पानी पर्ने सम्भावना भए पनि कहाँ, कति र कसरी पर्छ भन्ने विषयमा अहिले नै यकिन गर्न सकिँदैन। हामी निरन्तर निगरानी गरिरहेका छौँ।’

उनका अनुसार मनसुन बाहिरिने क्रममा पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा मनसुनी तथा न्यूनचापीय प्रणालीहरू एकै क्षेत्रमा रोकिएर रहने अवस्था सिर्जना हुन सक्छ। यस्तो अवस्थामा लामो समयसम्म वर्षा हुने सम्भावना बढ्छ। नेपालमा सामान्यतया अक्टोबर २ आसपास मनसुन बाहिरिने गरे पनि कतिपय वर्षमा अक्टोबरको दोस्रो सातासम्म मनसुन लम्बिने गरेको छ।

भारतको उत्तर प्रदेश र बिहारमा पनि सेप्टेम्बर २५ देखि २८ सम्म अत्यधिक भारी वर्षाको सम्भावना रहेको अल इन्डिया वेदरले जनाएको छ। बंगालको खाडीमा विकसित हुनसक्ने चक्रवातले भारतका विभिन्न क्षेत्रमा ठूलो मौसमी प्रभाव पार्न सक्ने र त्यसको असर नेपालसम्म देखिन सक्ने पूर्वानुमान गरिएको छ।

विगतमा पनि चक्रवातले निम्त्याएको थियो ठूलो असर

नेपालमा बंगालको खाडीबाट विकसित हुने चक्रवात तथा त्यससँग सम्बन्धित मौसमी प्रणालीको प्रभाव विगतमा पनि देखिँदै आएको छ। सन् २०१४ मा आएको हुदहुद चक्रवातसँग सम्बन्धित भारी हिमपात र हिमपहिरोका कारण अन्नपूर्ण क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो।

त्यस्तै, सन् २०१९ को फानी चक्रवातले हिमाली क्षेत्रमा समेत प्रभाव पारेको थियो। विभिन्न वर्षमा चक्रवातसँग सम्बन्धित भारी वर्षाले कृषि क्षेत्रमा क्षति पुर्‍याउनुका साथै बाढी, पहिरो र आकस्मिक डुबानको जोखिमसमेत बढाउँदै आएको छ।

असोजमा लगातार भारी वर्षाको प्रवृत्ति

त्रिवि केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक पोखरेलका अनुसार पछिल्ला केही वर्षयता असोज महिनामा पनि उल्लेख्य वर्षा हुने क्रम बढेको छ। उनका अनुसार सन् २०२१ यता असोजमा लगातार वर्षा भइरहेको देखिनु असामान्य प्रवृत्ति हो।

विभागका अर्का मौसमविद् डेबिड ढकालले पनि पछिल्ला केही वर्षयता असोजमा वर्षाको गतिविधि देखिँदै आएको बताएका छन्।

वल्र्ड वेदर एट्रिब्युसनका अध्ययनहरूले मानव गतिविधिबाट भइरहेको जलवायु परिवर्तनले नेपालमा तीन दिनसम्म कायम रहने भारी वर्षाको सम्भावना र तीव्रता बढाएको देखाएका छन्। यस्तो मौसमी प्रवृत्तिले कृषि, यातायात, पर्यटन तथा जनजीवनमा प्रत्यक्ष असर पार्ने भएकाले आगामी दिनमा जोखिमको पूर्वानुमानसँगै समयमै सावधानी अपनाउनुपर्ने देखिन्छ।

मौसम विभागले आगामी दिनमा विकसित हुने मौसमी प्रणालीको निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार विशेष मौसम बुलेटिन जारी गर्ने तयारी गरेको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares