संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।

परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसंघ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल, उपसचिव मधुसुधन भट्टराईलगायत अधिकारी न्युयोर्क गएका छन्।

न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसमेत सहभागी हुनेछन्। प्रधानमन्त्री शाह मंगलबार न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, निजी सचिवालयका अधिकारी तथा सुरक्षा टोली रहनेछन्।

प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीका अन्य कार्यक्रम सीमित रहेकाले महासभाअन्तर्गतका अधिकांश उच्चस्तरीय बैठक तथा कार्यक्रममा परराष्ट्रमन्त्री खनाल सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्कमा करिब नौ दिनको बसाइका क्रममा मन्त्री खनाल ५० भन्दा बढी बैठक तथा कार्यक्रममा सहभागी हुने तयारी छ। उनले १२ भन्दा बढी अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन गर्ने तथा विभिन्न मुलुकका समकक्षीसँग २४ भन्दा बढी द्विपक्षीय भेटवार्ता गर्ने तयारी गरिएको छ।

यसक्रममा भारतीय विदेशमन्त्री डा. एस जयशंकर, चिनियाँ उपप्रधानमन्त्री हे लिफेङलगायत उच्चस्तरीय व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय हुँदैछ।

परराष्ट्रमन्त्री खनालका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै विभिन्न देशका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

यसपटक संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्ला वर्षमा प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमध्ये यसपटकको टोली तुलनात्मक रूपमा सानो छ।

Facebook Comments Box
TOP
15 Shares