क्यासिनोमा नेपाली प्रवेशको आरोप, ११ जना पक्राउ

काठमाडौँ । नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी बन्देज भए पनि काठमाडौंका केही क्यासिनोमा नेपाली प्रवेश गरिरहेको आरोप पुनः सतहमा आएको छ।
बुढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित गरुड क्यासिनोमा मंगलबार बिहान प्रहरीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा ११ जना नेपाली पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसर र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ९ वटा मोबाइल, विभिन्न मूल्यका क्यासिनो क्वाइन तथा नेपाली रुपैयाँ १० लाख ८५ हजार ६ सय बरामद भएको छ। उनीहरूमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनासँगै नेपाली नागरिक क्यासिनोभित्र कसरी प्रवेश गरे भन्ने प्रश्न पनि उठेको छ। क्यासिनोको प्रवेशद्वारमा पहिचान जाँच र सुरक्षा व्यवस्था हुँदाहुँदै नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा भेटिनुले प्रवेश नियन्त्रण प्रणालीमाथि प्रश्न उठाएको हो।
यसैबीच, केही क्यासिनोले स्थानीय प्रहरीसँग मिलेमतो गरी नेपालीलाई प्रवेश गराउने र प्रहरी व्यवस्थापनका नाममा मासिक लाखौँ रुपैयाँसम्म रकम छुट्याउने गरेको आरोपसमेत चर्चामा आएको छ। कतिपय अवस्थामा यस्तो रकम १५ लाख रुपैयाँसम्म हुने दाबी गरिए पनि यसको स्वतन्त्र पुष्टि भएको छैन।
त्यसैले अनुसन्धान पक्राउ परेका व्यक्तिमा मात्र सीमित नगरी नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराउने संयन्त्र, सुरक्षा व्यवस्थापन, प्रवेश अभिलेख, सीसीटीभी फुटेज तथा प्रहरीसँगको सम्भावित आर्थिक सम्बन्धसमेत छानबिन गर्नुपर्ने देखिन्छ।
गरुड क्यासिनोमा भएको घटनाले नेपाली प्रवेशमाथिको कानुनी बन्देज प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ कि छैन भन्ने प्रश्न फेरि उठाएको छ।

Facebook Comments Box
TOP
15 Shares