बालिका सिवाकोटी र भरत चौलागाईं किन परे पक्राउ ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाली कांग्रेसका नेता भरत चौलागाईं र पत्रकार बालिका सिवाकोटीलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया सिवाकोटीलाई ठगीसम्बन्धी कसूरको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।

नेपाल सरकार र इजरायल सरकारबीच भएको ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (G to G) सम्झौताअन्तर्गत सन् २०२४ मा केयरगिभरका लागि सञ्चालन गरिएको परीक्षामा सहभागी भएर ‘लक्की ड्र’मा छनोट हुन नसकेका १५६ जना परीक्षार्थीलाई उनीहरूले निशाना बनाएको सीआईबीको आरोप छ।

अनुसन्धानका क्रममा उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग आफ्नो प्रत्यक्ष पहुँच रहेको दाबी गर्दै नाम तथा पदको दुरुपयोग गरी जसरी भए पनि इजरायल पठाइदिने आश्वासन दिएको पाइएको सीआईबीले जनाएको छ।

यही आश्वासनमा विश्वास दिलाएर पीडितहरूबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम संकलन गरिएको र कुल २ करोड ५० लाख रुपैयाँ ठगी भएको आरोप छ।

पीडितहरूले दिएको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। सोही क्रममा चौलागाईं र सिवाकोटीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

उनीहरूमाथि लागेको आरोपको कानुनी पुष्टि भने अनुसन्धान तथा अदालतको प्रक्रियाबाट हुने छ।

Facebook Comments Box
TOP
15 Shares