चिलिमेको सट्टा सोलु कोरिडोरबाट बंगलादेश ४० मेगावाट बिजुली पठाउने तयारी

काठमाडौं । भोटेकोशी बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत आयोजनामा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक आयोजनामार्फत बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने तयारी थालेको छ ।
नेपालबाट बंगलादेश विद्युत् निर्यातका लागि यसअघि त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट ४० मेगावाट विद्युत् पठाउने सम्झौता भएको थियो । तर, बाढीका कारण ती आयोजनामा क्षति पुगेपछि प्राधिकरणले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिन सोलु कोरिडोरका आयोजनालाई वैकल्पिक स्रोतका रूपमा अघि सारेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण आयोजनामा क्षति पुगेपछि नियमअनुसार फोर्स मेजर घोषणा गरिएको छ । यद्यपि, बंगलादेशतर्फको विद्युत् निर्यात रोक्ने प्राधिकरणको योजना छैन ।
‘बंगलादेशको हकमा हामीले त्रिशूली र चिलिमेको गरी ४० मेगावाट बिजुली पठाउने सम्झौता गरेका थियौँ । ती दुवै आयोजना क्षतिग्रस्त भएपछि नियमअनुसार हामीले फोर्स मेजर घोषणा गरेका छौँ,’ श्रेष्ठले भने, ‘तर हामी निर्यात रोक्ने पक्षमा छैनौँ । ती दुई आयोजनाको सट्टा सोलु कोरिडोरका अपर सोलुलगायत अन्य आयोजनाबाट ४० मेगावाट बिजुली पठाउने गरी तयारी अगाडि बढाएका छौँ ।’
नेपालबाट भारतको प्रसारण संरचना हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्नुपर्ने भएकाले वैकल्पिक आयोजनालाई निर्यात सूचीमा समावेश गर्न भारतीय पक्षसँग समेत पहल भइरहेको प्राधिकरणले जनाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार वैकल्पिक आयोजनाबाट विद्युत् निर्यातका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग छलफल भइसकेको छ । भारतीय पक्षबाट आवश्यक स्वीकृति छिट्टै प्राप्त हुने अपेक्षा प्राधिकरणले गरेको छ ।
यसैबीच, भोटेकोशी बाढी र पहिरोका कारण प्रमुख जलविद्युत आयोजनामा क्षति पुगेपछि भारततर्फ भइरहेको नेपालको विद्युत् निर्यातमा समेत असर परेको छ । बाढीअघि नेपालले भारततर्फ दैनिक ८ सयदेखि १ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्दै आएकोमा अहिले घटेर दैनिक ६ सयदेखि ७ सय मेगावाटको हाराहारीमा पुगेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त आयोजनाको मर्मत तथा पुनःस्थापनासँगै वैकल्पिक आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिने प्राधिकरणको तयारीले बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा ल्याउने प्रयासलाई अघि बढाएको छ ।

Facebook Comments Box
TOP
15 Shares