खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार अमेरिकाको न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति भारत सरकार तथा भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता र विपद्का बेला तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम, आपसी हित तथा द्विपक्षीय सहकार्यका विषयमा विस्तृत विचार आदानप्रदान भएको थियो । दुवै पक्षले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तर अघि बढाउने विषयमा जोड दिएका छन् ।

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशंकरबीचको भेटलाई पछिल्लो समय नेपालमा आएको प्राकृतिक विपद्का सन्दर्भमा मानवीय सहयोग तथा दुई देशबीचको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।

Facebook Comments Box
TOP
15 Shares