नागरिकको विश्वास जित्दै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा साझेदारीलाई थप सुदृढ गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकको विश्वास र सहकार्यलाई प्रहरी कार्यको प्रमुख आधार बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले अपराधका बदलिँदा प्रवृत्ति र सम्भावित जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्न तथा प्रमाणमुखी अनुसन्धानमा प्रविधिको रणनीतिक उपयोग बढाउन निर्देशन दिए। विगतका घटना र अनुभवबाट पाठ सिक्दै सूचना संकलन तथा विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना निर्माण गरी प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

आईजीपी कार्कीले प्रहरी संगठनभित्र योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन तथा आन्तरिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिए।

समीक्षा बैठकमा उठेका विषयलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्न, देखिएका कमीकमजोरी सुधार गर्न तथा केन्द्र र प्रदेश प्रहरीबीच कार्यसम्पादनमा एकरूपता कायम गर्नुपर्ने उनले बताए।

बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।

सो क्रममा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, बदलिँदो सुरक्षा चुनौतीको सामना र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।

आईजीपी कार्कीले नागरिकको विश्वास जित्ने, सूचना तथा प्रविधिको अधिकतम उपयोग गर्ने र संगठनभित्र अनुशासन तथा उत्तरदायित्वलाई थप बलियो बनाउने दिशामा प्रहरी संगठन अघि बढ्नुपर्नेमा जोड दिए।

Facebook Comments Box
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
२ दिन अगाडि

1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…

TOP
15 Shares