आज संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक पारितदेखि समितिमा पठाउनेसम्म कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ ।

दुवै सदनका बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन, प्रश्नोत्तर तथा विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन् ।

कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछिन् ।

प्रतिनिधिसभाको आजकै बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।

सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना स्वीकृतिका लागि पेस गर्नेछन् । साथै, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यक्रम पनि रहेको छ ।

यसैगरी, राष्ट्रियसभाको बैठकमा पनि मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा गरिएको संशोधनलाई सहमति प्रदान गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

राष्ट्रियसभाको आजको बैठकबाट ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची रहेको छ ।

यसरी आजका दुवै सदनका बैठकमा विधेयकमाथिको छलफल, समितिमा पठाउने प्रक्रिया, प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस तथा महत्वपूर्ण विधेयक पारित गर्ने लगायतका संसदीय कामकारबाही अघि बढ्नेछन् ।

Facebook Comments Box
TOP
15 Shares