
बेनीमा पहिरोको वितण्डा : १२ घरमा क्षति, न्युरोड र गणेशटोलका सय घर जोखिममा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार पछाडिको पाखोबाट खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ । बेनी नगरपालिका–८ न्युरोडस्थित खोरियाको पाखोबाट बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म तीन पटक पहिरो खसेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
पहिरोसँगै आएको लेदो घरभित्र पसेपछि ६ वटा घर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् भने थप ६ घरमा आंशिक क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
नगरप्रमुख केसीका अनुसार पाखामा रहेका पानीका मुहानबाट भूमिगत पानी बगेसँगै पहिरो खसिरहेको छ । थप क्षति हुन नदिन प्राविधिक टोलीमार्फत पहिरोको अवस्था अध्ययन गर्नुका साथै पहिरो पन्छाउने र पानीको बहावलाई सुरक्षित रूपमा तर्काउने काम भइरहेको छ ।
“बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको छ । पाखामा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै पहिरो खसेपछि जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ,” नगरप्रमुख केसीले भने, “थप क्षति हुन नदिन प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काम भइरहेको छ ।”
पहिरोको जोखिम बढेपछि न्युरोडका बासिन्दाले बुधबार राति नै घर छाडेका थिए । सम्भावित क्षतिलाई ध्यानमा राख्दै कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयमा रहेका महत्वपूर्ण कागजपत्र तथा सामग्रीसमेत सुरक्षित स्थानमा सारिएको नगरप्रमुख केसीले बताए ।
बिहीबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीको टोली पहिरो प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । सुरक्षाकर्मीले जोखिममा रहेका घरभित्रका सामान सुरक्षित स्थानमा सार्ने तथा प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनको काम गरिरहेका छन् ।
पहिरोको त्रासका कारण स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय चिरञ्जीवी शर्माले पहिरो खस्ने क्रम नरोकिएपछि न्युरोडवासी रातभर घरबाहिर तथा सुरक्षित स्थानमा बसेर अवस्था नियाल्न बाध्य भएको बताए ।
पहिरो प्रभावित घरमा डेरामा बस्दै आएका परिवारका लागि खानाको व्यवस्थासमेत मिलाइएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिए । उनका अनुसार पछिल्ला चार दिनदेखि जमिनमा चिरा पर्ने क्रम बढ्दै गएको थियो भने बुधबारदेखि पहिरो खस्न थालेको हो ।
वडाध्यक्ष कर्माचार्यका अनुसार करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइ क्षेत्रको खरबारी चिराचिरा परेर फुटेको छ । पाखाका रूखहरू ढल्ने तथा ढल्किने क्रमसमेत बढेको छ ।
“पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले पाखाको तल र माथि दुवैतर्फ असर गरेको छ,” कर्माचार्यले भने, “बेनी बजारमा खानेपानी आपूर्ति गराउने मुख्य पाइपलाइनसमेत चुँडिएका छन् र ठाउँ–ठाउँमा भाँचिएका छन् ।”
पहिरोको जोखिम न्युरोडमा मात्रै सीमित नरहेको स्थानीय प्रशासनले जनाएको छ । यसबाट बेनी नगरपालिका–८ को न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घर प्रभावित हुन सक्ने जोखिम रहेको बताइएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको तत्काल प्राविधिक अध्ययनका लागि भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिए ।
भूगर्भविद्हरूको अध्ययन र सुझावका आधारमा पहिरोको वास्तविक अवस्था तथा थप क्षतिको सम्भावना आकलन गर्न सकिने उनले बताए । सम्भावित जोखिमबाट जोगिन स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
बेनी बजारको घना बस्ती नजिकै पहिरो सक्रिय भएपछि स्थानीयवासीमा त्रास बढेको छ । पहिरोको कारण खानेपानीको मुख्य पाइपलाइनमा समेत क्षति पुगेकाले बजारको खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने देखिएको छ । अहिले सुरक्षाकर्मी, स्थानीय तह र प्राविधिक टोलीको समन्वयमा जोखिम न्यूनीकरण तथा प्रभावित परिवारको व्यवस्थापनको काम भइरहेको छ ।
समाज
थप सामाग्री-
पत्रकारलाई ‘असनका साँढे’ भनेपछि राजीव खत्रीविरुद्ध पत्रकार आक्रोशित, कार्यक्रम बहिष्कारको तयारी
-
चाडपर्व लक्षित ट्राफिक प्रहरी प्रभाग कपनको माइकिङ अभियान सुरु
-
बेनीमा पहिरोको वितण्डा : १२ घरमा क्षति, न्युरोड र गणेशटोलका सय घर जोखिममा
-
नेपालमा पहिलोपटक Xtep को १० किलोमिटर म्याराथन, चक्रपथस्थित सोरुमबाट भव्य सुरुवात
-
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
छिपहरमाईमा हाजिर भए विवादित पृष्ठभूमिका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा
११ घण्टा अगाडि
1.8kViews 30 Shares Share on Facebook Share on Twitter वीरगंज, १५ असोज। पर्साको छिपहरमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सर्वजीत…





