पत्रकारलाई ‘असनका साँढे’ भनेपछि राजीव खत्रीविरुद्ध पत्रकार आक्रोशित, कार्यक्रम बहिष्कारको तयारी

काठमाडौं । पत्रकारिताबाट राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले संसद्को रोस्ट्रमबाट पत्रकारहरूलाई लक्षित गर्दै दिएको आपत्तिजनक अभिव्यक्तिले सञ्चार क्षेत्र तरंगित भएको छ। पत्रकारलाई ‘असनका साँढे’ जस्तो उपमा दिँदै ‘गुण्डागर्दी नगर्न’ चेतावनी दिएपछि खत्रीविरुद्ध पत्रकारहरू आक्रोशित बनेका छन्।

सांसद खत्रीले पत्रकारिताबाटै सार्वजनिक जीवनमा पहिचान बनाएको पृष्ठभूमि भए पनि अहिले पत्रकारितामाथि नै अपमानजनक टिप्पणी गरेको भन्दै उनको आलोचना भइरहेको छ। आफ्नो राजनीतिक यात्राको सुरुवात भएको सञ्चार क्षेत्रप्रति नै संसद्को गरिमामय थलोबाट खत्रीले प्रयोग गरेको भाषालाई पत्रकारहरूले गम्भीर रूपमा लिएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार खत्रीले पत्रकारहरूको मानमर्दन गर्नुका साथै सिंगो प्रेस जगतलाई अपमानित गर्ने अभिव्यक्ति दिएको भन्दै उनको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बहिष्कार गर्ने विषयमा पत्रकारहरूबीच छलफल भइरहेको छ।

महासंघका पदाधिकारी तथा सदस्यहरूबीच यस विषयमा छलफल जारी रहेको र छिट्टै औपचारिक निर्णय गरिने सुवेदीले बताएका छन्।

खत्रीले प्रतिनिधिसभाको बैठकमा केही पत्रकार नेताले प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठलाई झ्यालबाट फ्याँक्ने धम्की दिएको दाबी गर्दै धम्की दिने व्यक्ति पत्रकार हुन् कि गुण्डा हुन् भन्ने प्रश्न उठाएका थिए। त्यस क्रममा उनले पत्रकारका नाममा धम्की दिनेहरूलाई ‘असनका साँढे’को संज्ञा दिएका थिए।

तर, कुनै व्यक्ति वा समूहले धम्की दिएको भए त्यसको कानुनी तथा संस्थागत प्रक्रियाबाट छानबिन र कारबाहीको बाटो हुँदाहुँदै समग्र पत्रकारिता क्षेत्रलाई लक्षित हुने गरी अपमानजनक उपमा प्रयोग गर्नुले प्रश्न खडा गरेको पत्रकारहरूको भनाइ छ।

खत्रीको अभिव्यक्तिको अर्को पाटो पनि छ। सहकारी ठगी प्रकरणमा आरोपित जिबी राई पक्राउको विषयमा संसद् भवनबाहिर पत्रकारले प्रश्न गर्दा खत्री पत्रकारसँगै विवादमा उत्रिएका थिए। विगतमा आफूहरूले सरकारको नेतृत्व पाए २४ घण्टाभित्र जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउने दाबी गर्नेहरूले सरकारमा पुगेपछि किन पक्राउ गर्न नसकेको भन्ने प्रश्नमा उनी आक्रोशित बनेका थिए।

पत्रकारले प्रश्न गर्नु र जनप्रतिनिधिले त्यसको जवाफ दिनु लोकतान्त्रिक व्यवस्थाको सामान्य अभ्यास हो। तर प्रश्न सामना गर्नुपर्ने ठाउँमा प्रश्नकर्तामाथि नै आक्रोश पोख्ने र त्यसपछि संसद्को रोस्ट्रमबाट पत्रकारितामाथि कटाक्ष गर्ने शैलीले खत्रीको सार्वजनिक अभिव्यक्तिमाथि थप बहस निम्त्याएको छ।

पत्रकारिताबाट राजनीतिमा पुगेका खत्रीले अहिले पत्रकारितामाथि नै प्रश्न उठाउने क्रममा प्रयोग गरेको भाषालाई लिएर सञ्चार क्षेत्रले ‘जवाफदेहिताको राजनीति’माथि प्रश्न उठाएको छ। पत्रकारलाई प्रश्न गर्नबाट रोक्ने वा अपमानित गर्ने प्रयासले प्रेस र जनप्रतिनिधिबीचको स्वस्थ सम्बन्ध कमजोर पार्ने भन्दै पत्रकारहरूले असन्तुष्टि जनाएका छन्।

अब प्रश्न खत्रीको अभिव्यक्ति विवादमा मात्र सीमित छैन—सार्वजनिक पदमा पुगेका व्यक्तिले आफूलाई असहज लाग्ने प्रश्नको सामना कसरी गर्ने र आलोचनाप्रति कस्तो भाषा प्रयोग गर्ने भन्ने विषयमा समेत बहस सुरु भएको छ।

पत्रकारहरूकै कार्यक्रममा पत्रकार नजाने अवस्था सिर्जना हुनु आफैंमा असामान्य परिस्थिति हो। महासंघले औपचारिक निर्णय गरेमा सांसद खत्रीको पत्रकार भेटघाट कार्यक्रम बहिष्कार गर्ने कदम प्रेस जगत र जनप्रतिनिधिबीचको सम्बन्धबारे एउटा स्पष्ट सन्देश बन्नेछ।

Facebook Comments Box
छिपहरमाईमा हाजिर भए विवादित पृष्ठभूमिका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा
७ घण्टा अगाडि

1.7kViews 30 Shares Share on Facebook Share on Twitter वीरगंज, १५ असोज। पर्साको छिपहरमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सर्वजीत…

TOP
15 Shares