नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपाल विच शैक्षिक समझदारी कायम

काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालविच इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सवालमा समझदारी भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज र शिक्षा तथा बालबालिकाहरुको क्षेत्रमा सक्रिय सिर्जनशील नेपाल विच जेहेन्दार, मेहनती विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शैक्षिक समझदारी कायम भएको हो ।

समझदारी पत्रमा कलेजका सहायक प्राचार्य मोहनध्वज केसी तथा सिर्जनशील नेपालका सचिब नेत्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । बुधबार कलेजमा सम्पन्न समझदारी पत्रमा हस्तान्तरण गर्दै सिर्जनशील नेपालका सचिब उपाध्यायले उच्च शिक्षा हासिल गर्न योग्य तर आर्थिक र पारिवारिक रुपमा कमजोर छात्राहरुलाई इन्जिनियरिङ शिक्षा दिन यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । समझदारी अनुसार संस्थाले एक जना छात्रालाई सम्पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्नेछ ।

चालू शैक्षिक सत्रका लागि संस्थाले आर्किटेक्चरमा अध्ययनरत एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले बताउनु भयो । उहाँले इन्जिनियरिङ शिक्षामा गरिब, विपन्न त्यसमाथि छात्राहरुको पहुँच स्थापित गर्न संस्थाले गरेको योगदानको प्रशंसा गर्नुभयो । कलेजका अनुसार आर्किटेक्चरको ५ वर्षे कोर्षको शुल्कमा कलेजले पनि छुट गरिदिँदा बाँकी रकम सिर्जनशील नेपालले ब्यहोरिदिएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकाले कलेजले हरेक वर्ष इन्जिनियरिङका विभिन्न विधाहरुमा १५ करोड बराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सिर्जनशील नेपालले जेहेन्दार तर, आर्थिक र पारिवारिक रूपमा कमजाेर बालबालिकाहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर दिएकाे छ । संस्थाले काठमाडाैंका विभिन्न कलेजहरूमा ५५ जना भन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्तिमा अध्ययन गराइरहेकाे छ ।

Facebook Comments Box
TOP
15 Shares