
एआईजीका पाँच पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीहरूबीच तीव्र प्रतिस्पर्धा !

काठमाडौं ।नेपाल प्रहरीको उच्च नेतृत्व तहमा आगामी पुसदेखि ठूलो फेरबदल हुने भएको छ। ३० वर्षे सेवा अवधिका कारण पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अनिवार्य अवकाशमा जाने भएपछि संगठनको नेतृत्व संरचनामा व्यापक परिवर्तन हुने निश्चित भएको हो। रिक्त हुने एआईजी पदमा बढुवाका लागि डीआईजीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु हुने देखिएको छ।
२०५३ पुस ५ गते नेपाल प्रहरीमा भर्ना भएको टोलीले ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ४ गतेदेखि अनिवार्य अवकाश पाउनेछ। अवकाशको मितिबारे सम्बन्धित प्रहरी अधिकारीहरूलाई यसअघि नै जानकारी गराइसकिएको छ। प्रहरी किताबखानाले अवकाश हुनुभन्दा एक महिनाअघि औपचारिक पत्र उपलब्ध गराउने व्यवस्था रहेकाले उनीहरूले आगामी केही दिनभित्रै अवकाशपत्र बुझ्नेछन्।
अवकाशमा जान लागेका एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन्। शाह प्रदेश समन्वय विभाग, राठौर उपत्यका प्रहरी कार्यालय रानीपोखरी, चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), श्रेष्ठ कार्य विभाग र विक प्रशासन विभागमा कार्यरत छन्।
यी पाँच एआईजीको अवकाशसँगै नेपाल प्रहरीका महत्त्वपूर्ण विभाग, अपराध अनुसन्धान र काठमाडौं उपत्यकाको सुरक्षा कमान्डमा नयाँ नेतृत्व आउनेछ। प्राविधिकतर्फको एक दरबन्दीबाहेक आठ एआईजी दरबन्दी रहेको प्रहरी संगठनमा उनीहरू अवकाशमा गएपछि पुस ५ गतेदेखि तीन जना मात्रै बाँकी रहने अवस्था छ।
एआईजीसँगै २०५३ सालकै ब्याचबाट भर्ना भएका तीन डीआईजी पनि अनिवार्य अवकाशमा जानेछन्। अवकाशमा जाने डीआईजीहरूमा ओम राना, दिलीपनाथ देउवा र सुरेन्द्र गुरुङ रहेका छन्। त्यसैगरी उमेरहदका कारण डीआईजी विनोद घिमिरे आगामी मंसिर २३ गते, जयराज सापकोटा चैतमा र दीपक बस्नेत आगामी वैशाखको पहिलो साता अवकाशमा जानेछन्।
लगातारको अवकाशले डीआईजी तहमा समेत पद रिक्त हुँदै जानेछ। यसले एआईजी बढुवासँगै तल्लो तहका प्रहरी अधिकारीहरूको बढुवा प्रक्रियालाई समेत प्रभावित गर्ने देखिन्छ।
यी सात डीआईजी एआईजी बढुवाको प्रतिस्पर्धामा
रिक्त हुने एआईजी पदमा बढुवाका लागि डीआईजीहरूबीच प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। सम्भावित प्रतिस्पर्धीका रूपमा राजेन्द्र भट्ट, दिनेश आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी र सुदर्शन कोइरालाको नाम चर्चामा छ।
पाँच एआईजी पद रिक्त हुने र त्यसका लागि सात डीआईजी प्रतिस्पर्धामा देखिएपछि प्रहरी संगठनभित्र बढुवालाई लिएर चासो र सरगर्मी बढेको छ। बढुवामा वरिष्ठता, कार्यक्षमता, व्यावसायिक अनुभव, कार्यसम्पादन र नेतृत्व क्षमताले निर्णायक भूमिका खेल्नुपर्ने प्रहरी वृत्तको अपेक्षा छ।
विशेषगरी राजनीतिक पहुँच, व्यक्तिगत निकटता र गुटगत प्रभावभन्दा संगठनमा पुर्याएको योगदानका आधारमा बढुवा हुनुपर्ने आवाज प्रहरीभित्र उठिरहेको छ। लामो समयसम्म संगठनमा काम गरेका र चुनौतीपूर्ण जिम्मेवारी सम्हालेका अधिकृतमध्येबाट सक्षम नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिइएको छ।
अहिले एआईजी बढुवाको प्रतिस्पर्धामा रहेका डीआईजीहरूको सेवा अवधि पनि धेरै लामो छैन। यो समूहका प्रहरी अधिकारीहरूको जागिर अवधि अब करिब १७ महिना मात्रै बाँकी रहेको बताइन्छ। त्यसपछि प्रहरी संगठनको उच्च नेतृत्वमा नयाँ पुस्ताको प्रवेशका लागि बाटो खुल्नेछ।
डेढ वर्षपछि फेरि नेतृत्व पुस्तान्तरण
आगामी डेढ वर्षपछि प्रहरी संगठनको नेतृत्वमा अर्को पुस्ताको प्रवेश हुने सम्भावना छ। त्यसपछिको सम्भावित नेतृत्वका रूपमा भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी शेखर कोइराला,अवि नारायण काफ्ले र विश्व अधिकारीको नाम चर्चामा छ। यसले आगामी डेढ वर्षभित्रै नेपाल प्रहरीको उच्च नेतृत्व संरचनामा अर्को ठूलो पुस्तान्तरण हुने संकेत गरेको छ।
प्रहरी संगठनमा एकैपटक ठूलो संख्यामा उच्च अधिकारी अवकाशमा जाँदा नेतृत्व परिवर्तन मात्र हुँदैन, त्यसले अपराध अनुसन्धान, प्रशासनिक व्यवस्थापन, नीति निर्माण र समग्र सुरक्षा रणनीतिमा समेत प्रभाव पार्छ। त्यसैले रिक्त पदमा हुने नियुक्ति र बढुवा संगठनको भावी दिशा निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
अब प्रहरी संगठनभित्रको मुख्य चासो रिक्त हुने एआईजी पदमा को पुग्छ भन्नेमा मात्रै सीमित छैन। बढुवाको निर्णय वरिष्ठता, योग्यता, कार्यसम्पादन र व्यावसायिक क्षमताका आधारमा हुन्छ वा राजनीतिक पहुँच र शक्ति केन्द्रको प्रभावमा पर्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ।
नेपाल प्रहरीलाई व्यावसायिक, निष्पक्ष, सक्षम र परिणाममुखी संगठनका रूपमा स्थापित गर्ने हो भने उच्च पदको बढुवामा पारदर्शिता र कार्यसम्पादनलाई नै निर्णायक आधार बनाउनुपर्नेछ। संगठनको नेतृत्व चयनमा हुने निर्णयले प्रहरीको भावी कार्यदिशा र जनविश्वाससमेत निर्धारण गर्ने भएकाले यसपटकको एआईजी बढुवालाई विशेष महत्त्वका साथ हेरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
सिट नपुगेपछि परिवारलाई गाडी चढाएर डेरामै फर्किएका अवधेशले गुमाए गर्भवती श्रीमतीसहित ६ आफन्त
-
एआईजीका पाँच पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीहरूबीच तीव्र प्रतिस्पर्धा !
-
आईजीपी हटाउने सरकारको हतारो, न्यायालयको ढोका ढकढक्याउँदै दानबहादुर : प्रहरी संगठनलाई राजनीतिक प्रयोगशाला बनाउने प्रयास किन?
-
भीमफेदी ईभी दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, १० जनाको मृत्यु
वीरगन्ज कारागारबाट कैदी फरार, खोजी तथा अनुसन्धान सुरु
२२ घण्टा अगाडि
1.6kViews 30 Shares Share on Facebook Share on Twitter वीरगन्ज । पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार…





