संखुवासभामा चट्याङ लागेर दुई जना घाइते

संखुवासभा ।संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्।

बुधबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङका बेला घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चट्याङ लागेर गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

त्यस्तै, सबिनको बायाँ हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।

Facebook Comments Box
TOP
45 Shares