रानीपोखरीमा भाइटीका लगाउनेको घुइँचो, बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन बुधबार देशभर भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदै छ। यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने सर्वसाधारणको बिहानैदेखि घुइँचो लागेको छ।

वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। आफ्ना दिदीबहिनी नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरू मन्दिर पुगेर टीका र माला ग्रहण गर्दै पर्व मनाइरहेका छन्।

मन्दिरमा पुग्ने सर्वसाधारणले सप्तरङ्गी टीका लगाउनुका साथै फूलमाला ग्रहण गरेर भाइटीका मनाउने परम्परा छ। बिहानैदेखि रानीपोखरी क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ भने मन्दिर परिसरमा टीका लगाउनेहरूको भीड देखिएको छ।

भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, सयपत्री तथा मखमली फूलको माला पहिर्‍याउने र दीर्घायु, सुस्वास्थ्य एवं सुखसमृद्धिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विशेष पर्वका रूपमा भाइटीका मनाइन्छ।

Facebook Comments Box
TOP
30 Shares