नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी जेलमुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। चार वर्ष कैद सजाय भुक्तान गरी उनी बिहीबार बिहान कारागारबाट रिहा भएका हुन्।

कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकका रूपमा २५ प्रतिशत कैद छुट पाएपछि रायमाझी रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौंले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट दिन आदेश दिएसँगै उनी जेलमुक्त भएका हुन्।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था छ।

सरकारले पनि दुई महिनाअघि कारागार नियमावली संशोधन गर्दै ज्येष्ठ नागरिक ऐनअनुसार कैद छुट तथा सुविधा उपलब्ध गराउने प्रावधान समेटेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई चार वर्ष कैद सजाय सुनाइएको थियो। उनी २०८० वैशाखदेखि कारागारमा थिए। अदालतको आदेशअनुसार कैद छुट पाएपछि उनी बिहीबार बिहान रिहा भएका हुन्।

जेलमुक्त भएपछि परिवार तथा आफन्तले उनलाई स्वागत गरेका थिए। रिहालगत्तै उनी परिवारका सदस्यसँगै आफ्नो निवास पुगेका छन्।

Facebook Comments Box
TOP
15 Shares