बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। लगातारको वर्षापछि आएको बाढी र पहिरोले काठमाडौं उपत्यका जोड्ने सडकदेखि हिमाली तथा पहाडी जिल्लाका महत्वपूर्ण सडकखण्डसम्मको आवागमन प्रभावित भएको हो।

कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ।

बागमती प्रदेशकै रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सडक अवरुद्ध भएपछि स्थानीय तथा लामो दूरीका यात्रु प्रभावित भएका छन्।

गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा पनि बाढी तथा पहिरोले यातायात सेवा प्रभावित बनाएको छ। मनाङको बेँसीसहर हुँदै खाङ्सार जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङतर्फ जाने तथा आउने यातायात प्रभावित भएको छ।

नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसेको भए पनि सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यद्यपि ठूला सवारीसाधन भने सञ्चालन हुन सकेका छैनन्।

कर्णाली प्रदेशको हुम्लामा पनि पहिरोका कारण कर्णाली करिडोर तथा सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु, स्थानीय बासिन्दा तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। सम्बन्धित निकायहरूले पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्।

Facebook Comments Box
TOP
15 Shares