
मोरङको पूर्वी नाकामा ‘दिनमा कडाइ, राति तस्करी’ ? चिनी, चल्लादेखि हार्डवेयरसम्म अवैध कारोबारको आरोप, सुरक्षा निगरानीमाथि गम्भीर प्रश्न

विराटनगर । मोरङको पूर्वी सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सुरक्षा संयन्त्र परिचालित भए पनि रातको समयमा अवैध रूपमा सामान नेपाल भित्रिने गरेको स्थानीय व्यवसायी तथा सरोकारवालाको गुनासो बढ्दै गएको छ। दिनको समयमा सीमा क्षेत्रमा सुरक्षा कडाइ देखिए पनि रात परेपछि चिनी, कुखुराका चल्ला, तयारी कुखुरा, कुखुराको काँचो मासु, किराना, कपडा तथा हार्डवेयरलगायतका सामान चोर बाटोबाट नेपाल भित्रिने गरेको उनीहरूको आरोप छ।
सशस्त्र प्रहरी बल मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीले तस्करीबाट भित्रिएका सामान लुकाएर राखिएका गोदाम पहिचान गरी छापा मार्ने तथा बरामद सामग्री भन्सार कार्यालयमा बुझाउने अभियानलाई तीव्रता दिएको बताइँदै आएका छन। तर सीमा नाकामैबाट अवैध सामान प्रवेश रोक्ने विषयमा भने प्रश्न उठिरहेको छ।
विशेषगरी सोराभागस्थित सशस्त्र प्रहरी बलको गुल्मअन्तर्गत पर्ने नोचा, तारेगामा, रंगेली, सिक्टी र धनावटी आसपासका क्षेत्रमा रातको समयमा तस्करी हुने गरेको स्थानीयको दाबी छ। ती क्षेत्रमा सशस्त्र प्रहरीका विभिन्न युनिटसमेत परिचालित छन्। सोराभागमा प्रहरी नायब उपरीक्षकको कमान्डमा गुल्म रहेको छ भने मातहतका युनिटमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालित हुने गरेको छ।
सीमामै सुरक्षा संयन्त्रको उपस्थिति हुँदाहुँदै एउटै क्षेत्रमा पटक–पटक अवैध सामान बरामद भइरहनु आफैंमा गम्भीर प्रश्न हो। यदि सामान सीमाबाटै छिरेको हो भने त्यो कसरी छिर्यो ? कुन बाटो प्रयोग भयो ? कुन समयमा सुरक्षा निगरानी कमजोर भयो ? ड्युटीमा को–को थिए ? र तस्करीको सूचना हुँदाहुँदै नियन्त्रण किन हुन सकेन ? यी प्रश्नको जवाफ खोजिनुपर्ने देखिन्छ।
मोरङको पूर्वी क्षेत्रमा सबैभन्दा बढी चिनीको अवैध कारोबार हुने गरेको स्थानीय व्यवसायीहरुको दाबी छ। भारतबाट चिनी अवैध रूपमा नेपाल ल्याएर यहाँका चिनी उद्योगका बोरामा प्याक गरी नेपाली उत्पादनजस्तो देखाउँदै बजारमा पठाउने गरिएको आरोपसमेत लाग्दै आएको छ।
यदि यस्तो अभ्यास प्रमाणित भएमा यो सामान्य सीमापार चोरी–पैठारीको विषय मात्र रहने छैन। यसले वैधानिक रूपमा उत्पादन तथा कारोबार गर्ने नेपाली उद्योग, किसान र व्यवसायीलाई प्रत्यक्ष असर पार्नुका साथै राज्यको राजस्व प्रणालीमा समेत क्षति पुर्याउन सक्छ।
चिनीबाहेक कुखुराका चल्ला, तयारी कुखुरा, कुखुराको काँचो मासु, किराना सामग्री, कपडा तथा हार्डवेयरका सामानसमेत अवैध रूपमा नेपाल भित्रिने गरेको स्थानीयको दाबी छ। विशेषगरी रातको समयमा ठूलो परिमाणमा सामान ओसारपसार हुने गरेको आरोपले सीमा निगरानीको प्रभावकारितामाथि थप प्रश्न उठाएको छ। त्यसैले सत्यता पत्ता लगाउन ड्युटी परिचालन विवरण, निगरानी अभिलेख, सीसीटीभी फुटेज, बरामद सामग्रीको विवरण, तस्करीमा प्रयोग भएका बाटा तथा संलग्न व्यक्तिको आर्थिक कारोबारसम्म अनुसन्धान गर्नुपर्ने देखिन्छ।
पूर्वी मोरङबाट हुने भनिएको कुखुरा तथा चल्लाको तस्करीको पछिल्लो उदाहरणका रूपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको ७ हजार ब्रोइलर चल्ला बरामद भएको घटना आएको छ। सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टीबाट खटिएको टोलीले सुनवर्षी नगरपालिका–८, हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रमा रातको समयमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा चल्ला बरामद गरेको बताइएको छ। सुरक्षा टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ भागेको विवरण छ।
यसअघि पनि सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो। ठूलो परिमाणमा पटक–पटक चल्ला बरामद भइरहनुले सीमावर्ती क्षेत्रमा कुखुरा तथा चल्लाको अवैध आयातको प्रयास निरन्तर रहेको संकेत गर्छ।
भारतबाट चोर बाटो हुँदै कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु नेपाल भित्रिने समस्या मोरङमा नयाँ होइन। तर एउटै प्रकृतिका सामान पटक–पटक ठूलो परिमाणमा बरामद भइरहनु मात्रै बरामदगीको सफलताको विषय होइन, त्यसको पछाडि रहेको आपूर्ति शृंखला र सीमा निगरानी प्रणालीको प्रभावकारिता खोज्ने विषय पनि हो।
सुनसरीका पोल्ट्री व्यवसायी रमेश थापाका अनुसार भारतबाट अवैध रूपमा तयारी कुखुरा र चल्ला नेपाल भित्रिएर बजारमा बिक्री हुँदा नेपाली किसानले उत्पादन लागतअनुसारको मूल्य पाउन कठिन हुन्छ। खुला सीमाको फाइदा उठाउँदै सस्तो मूल्यमा भारतीय कुखुरा तथा चल्ला ल्याएर बिक्री गर्दा वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्ने नेपाली किसान र व्यवसायी असमान प्रतिस्पर्धामा पर्ने उनको भनाइ छ।
अवैध रूपमा कुखुरा तथा चल्ला भित्रिँदा आर्थिक असर मात्र होइन, रोग तथा जैविक सुरक्षासँग सम्बन्धित जोखिमसमेत निम्तिन सक्ने भएकाले पशु क्वारेन्टाइन तथा सम्बन्धित निकायको निगरानीसमेत प्रभावकारी हुनुपर्ने व्यवसायीहरूको भनाइ छ।
सीमामा सशस्त्र प्रहरी तैनाथ हुनुको प्रमुख जिम्मेवारीमध्ये सीमा सुरक्षा तथा अवैध गतिविधि नियन्त्रण पनि हो। त्यसैले कुनै निश्चित क्षेत्रमा बारम्बार तस्करीका सामान बरामद भइरहेका छन् भने त्यसलाई केवल ‘बरामदगीको उपलब्धि’ भनेर पन्छाउन मिल्दैन। बरामद हुनुअघि सामान कसरी सीमा पार गर्यो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
बरामद भएका सामानको परिमाण, समय, स्थान, प्रयोग भएको बाटो, सवारीसाधन, संलग्न व्यक्तिको पहिचान तथा ड्युटीमा परिचालित सुरक्षाकर्मीको विवरणलाई एकीकृत रूपमा विश्लेषण गर्नुपर्ने देखिन्छ। एउटै क्षेत्रमा एउटै प्रकृतिका सामान पटक–पटक बरामद भइरहेका छन् भने तस्करीको मार्ग पहिचान गरी सीमामै रोक्ने रणनीति आवश्यक हुन्छ।
एसपी भण्डारी नेतृत्वको मोरङ सशस्त्र प्रहरी प्रशासनले गोदाम खोजी, छापा र बरामद सामग्री भन्सार बुझाउने अभियानलाई प्राथमिकता दिएको भए पनि सीमाबाटै अवैध सामान छिर्न नदिने प्रभावकारी निगरानी अझ महत्वपूर्ण देखिन्छ।
स्थानीय तहमा सुनिने ‘लाइन चलेको’ वा ‘संरक्षणमा तस्करी भइरहेको’ जस्ता आरोपलाई प्रमाणबिना सत्य मान्न मिल्दैन। तर यस्ता आरोप निरन्तर दोहोरिइरहेका छन् र सोही क्षेत्रमा ठूलो परिमाणमा तस्करीका सामानसमेत बरामद भइरहेका छन् भने त्यसलाई सामान्य गुनासोका रूपमा बेवास्ता गर्नु पनि उचित हुँदैन।
रातको समयमा हुने सीमा गतिविधि, संवेदनशील नाकामा सुरक्षाकर्मीको परिचालन, निगरानीको अवस्था, वैकल्पिक बाटोको प्रयोग तथा तस्करीको सूचना पाएपछि गरिने कारबाहीबारे सम्बन्धित निकायले तथ्यसहित स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएको छ।
मोरङको पूर्वी नाकामा प्रश्न अब यति मात्र होइन कि ‘तस्करीका सामान कति बरामद भए ?’ प्रश्न यो पनि हो,ती सामान सीमा पार गरेर नेपालसम्म आइपुग्न कसरी पाए ?’
सीमामा सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति हुँदाहुँदै रातको समयमा तस्करी भइरहेको स्थानीयको आरोपमा सत्यता छ भने त्यसको छानबिन आवश्यक छ। र आरोपमा सत्यता छैन भने पनि सुरक्षा निकायले तथ्यसहित त्यसलाई खण्डन गर्नुपर्ने देखिन्छ। किनकि सीमा सुरक्षा केवल सामान बरामद गर्ने अभियान होइन, अवैध सामान भित्रिनै नदिने जिम्मेवारी पनि हो।
समाज
थप सामाग्री
चाडपर्व लक्षित ट्राफिक प्रहरी प्रभाग कपनको माइकिङ अभियान सुरु
१८ घण्टा अगाडि
2.8kViews 60 Shares Share on Facebook Share on Twitter काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी प्रभाग कपनले…





