म्यादी प्रहरीको कपडा खरिद प्रकरण अध्ययन गर्न मनिष झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

काठमाडौं । सार्वजनिक लेखा समितिले म्यादी प्रहरीका लागि खरिद गरिएको कपडासम्बन्धी प्रकरणको अध्ययन गर्न सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ।

समितिको नेतृत्व सांसद मनिष झाले गर्नेछन्। समितिका सदस्यहरूमा सांसद ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

सार्वजनिक लेखा समितिले अध्ययन समितिलाई म्यादी प्रहरीको कपडा खरिद प्रक्रियासँग सम्बन्धित विषयको अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

समिति गठनका क्रममा सांसदहरूबीच छानबिन समिति गठन गर्ने कि अध्ययन समिति बनाउने भन्ने विषयमा मतभेद देखिएको थियो। अन्ततः सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिले कपडा खरिद प्रक्रियासँग सम्बन्धित निर्णय, खरिद प्रक्रिया, लागत तथा कार्यान्वयनलगायतका विषय अध्ययन गरी आफ्नो निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाउनेछ।

Facebook Comments Box
TOP
15 Shares