हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक अवरुद्ध, दसैँमा घर फर्कने यात्रु प्रभावित

हुम्ला । हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमावर्ती क्षेत्र हिल्सा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पहिरो खसेपछि हिल्सा–सिमकोट सडकखण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। त्यसैगरी, माथिल्लो हिमाली क्षेत्रमा १२ किलोमिटरभन्दा बढी सडकखण्डमा हिउँ जमेकाले सडक तत्काल सञ्चालनमा ल्याउन चुनौती देखिएको प्रशासनले जनाएको छ।

सडक अवरुद्ध भएपछि हिल्सा तथा नाम्खा गाउँपालिकाका विभिन्न बस्तीबाट सदरमुकाम सिमकोट आवतजावत गर्ने नागरिक प्रभावित भएका छन्। दसैँ नजिकिँदै गर्दा घर फर्कने यात्रु, स्थानीय व्यापारी तथा पर्यटकलाई समेत आवतजावतमा समस्या भएको छ।

सडक बन्द हुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा स्थानीय उत्पादनको ओसारपसारसमेत प्रभावित भएको छ। लामो समयसम्म सडक सञ्चालनमा नआए दुर्गम हिमाली क्षेत्रका बासिन्दालाई खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा थप समस्या हुनसक्ने देखिएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार अवरुद्ध सडकलाई एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक काम अघि बढाइएको छ। तत्काल थप हिमपात नभए निर्धारित अवधिभित्र सडक खुलाउन सकिने उहाँले बताउनुभयो।

प्रशासनले पहिरो हटाउने तथा हिउँ पन्छाउने कामलाई प्राथमिकतामा राख्दै सडक सञ्चालनका लागि आवश्यक समन्वय र तयारी अघि बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares