धरौटीमा छुटेका खगेन्द्रका १५ वटा पेशी

प्रहरी महानिरीक्षक तथा अन्य अधिकृतहरू, न्यायाधीश र प्रशासकलाई समेत मुख छाडेर चर्चामा आएका हालका सांसद खगेन्द्र सुनार धरौटीमा छुटेको मुद्दामा १५औँ पटक पेशी तोकिँदा पनि फैसला हुन सकेको छैन । असोज १५ गतेलाई तोकिएको १५ औं पेशीमा पनि मुद्दा फैसला हुने सम्भावना न्यून छ ।

०८२ कात्तिक १३ गते उनी फरार सूचीमा रहेर जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका थिए । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनारलाई न्यायाधीश नगेन्द्रकुमार कालाखेतीले ५० हजार धरौटीमा छाड्न आदेश दिएका थिए ।

जिल्ला अदालतमा २०८२ सालको श्रावणमा (८२ सि १–००२ नम्बर) को दोस्रो मुद्दा सरकारवादी फौजदारीको रूपमा दर्ता भएको तीन दिनपछाडि साउन ५ गते पक्राउ पुर्जी जारी भएको थियो । साउन ५ गते देखि फरार सूचीमा रहेका सुनार कार्तिक १३ गते बल्ल अदालतमा हाजिर भएका हुन् । अदालतको अवहेलनासम्बन्धी मुद्दा भएकाले अदालत आफैंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

जेनजी आन्दोलनपछि उनी सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न खोज्दै थिए । यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम हटाइएको थियो । मन्त्री बन्न रोकिएपछि आक्रोशित सुनारले पुनः प्रहरी र अदालतमाथि धावा बोल्दै आए । माननीय भएपछि पनि सिन्धुली पुगेर ताण्डव देखाए । जहाँ प्रहरीको गल्ती थिएन । हिरासतभित्र आत्महत्या गरेको विषयमा उनले गरेको राजनीतिकरण असफल भएपछि महानिरीक्षकविरुद्ध लगातार बोलिरहेका छन् ।

यता, धरौटीमा छुटेपछि राजनीतिक घटनाक्रम फरक भएको भन्दै अदालतलाई समेत प्रभावित बनाइएको आरोप लाग्न थालेको छ । २०८२ कात्तिक १३ गते हाजिर भएका सुनार कात्तिक २६, मंसिर ३, मंसिर १२, मंसिर २२, पुस ३, पुस ११, पुस २८, फागुन ५, चैत्र १५, चेत्त २३, २०८३ वैशाख ७, वैशाख २३, असार २९ गते उपस्थित भएका छन् ।

मंसिर १२ गते बकपत्र गरिएको थियो भने असार २९ गतेलाई पनि बकपत्र तोकिएको थियो । असार २९ पछि एकै पटक उनको पेशी २०८३ असोज १५ गते बिहिबारलाई सरेको छ । आफै दल खोलेका सुनार पछि रास्वपामा पसेर निर्वाचनमा उठेका थिए । सांसद भएपछि चार पटक अदालतमा आफै उपस्थित भएर हाजिर गरेका छन् ।

– मोतीराम तिमल्सिना

Facebook Comments Box
TOP
15 Shares