
दसैँका लागि हिमाली जिल्लाबाट पोखरा भित्रिन थाले भेडा–च्याङ्ग्रा

कास्की । दसैँ पर्व नजिकिँदै गएसँगै हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन्। दसैँको समयमा विशेषगरी च्याङ्ग्राको माग बढ्ने भएकाले व्यवसायीले हिमाली क्षेत्रबाट भेडा–च्याङ्ग्रा ल्याउन थालेका हुन्।
यस वर्षको पहिलो लटमा डोल्पाबाट च्याङ्ग्रा लिएर व्यवसायी मीनप्रसाद बोहरा पोखरा आइपुगेका छन्। उनले पोखरा महानगरपालिका–१६ स्थित सिम्पानी जौबारीमा प्रतिगोटा २१ हजारदेखि ४० हजार रुपैयाँसम्म मूल्य पर्ने च्याङ्ग्रा बिक्रीका लागि राखेका छन्।
विगत तीन वर्षदेखि निरन्तर भेडा–च्याङ्ग्रा लिएर पोखरा आउँदै आएका बोहराले यस वर्ष डोल्पाबाट एक सय वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याएका हुन्।
व्यापारीहरूका अनुसार यस वर्ष मुस्ताङ, बझाङ, हुम्ला, डोल्पालगायत हिमाली जिल्लाबाट १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा पोखरा भित्रिने अनुमान गरिएको छ। दसैँमा घरपरिवार तथा आफन्तका लागि च्याङ्ग्रा किन्ने चलन रहेकाले पोखरामा यसको ठूलो माग हुने गरेको छ।
व्यवसायीहरूले भौगोलिक अवस्थाअनुसार कतिपय भेडा–च्याङ्ग्रा पैदल हिँडाएर र कतिपयलाई सवारीसाधनमा राखेर पोखरा ल्याउने गरेका छन्। तर, गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि यस वर्ष मुस्ताङबाट अघिल्ला वर्षहरूजस्तो सहज रूपमा गाडीमा राखेर भेडा–च्याङ्ग्रा पोखरा ल्याउने अवस्था देखिएको छैन।
सडक अवरुद्ध भएपछि मुस्ताङलगायतका क्षेत्रबाट भेडा–च्याङ्ग्रा पैदल हिँडाएरै ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायीहरूले बताएका छन्। यसका कारण यस वर्ष विगतका वर्षको तुलनामा भेडा–च्याङ्ग्रा पोखरा आइपुग्न केही ढिला हुने देखिएको छ।
दसैँ नजिकिँदै जाँदा हिमाली क्षेत्रबाट थप भेडा–च्याङ्ग्रा पोखरा भित्रिने क्रम बढ्ने र बजारमा कारोबारसमेत विस्तार हुने व्यवसायीहरूको अपेक्षा छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





