लहानमा दिनदहाडै जुवा सञ्चालनको आरोप, प्रहरीको भूमिकामाथि प्रश्न

लहान । सिरहाको लहान क्षेत्रमा ठूलो रकमको जुवा सञ्चालन भइरहेको भन्दै प्रहरी प्रशासनको निगरानी र भूमिकामाथि प्रश्न उठेको छ। स्थानीय स्रोतका अनुसार लहानको चिम्नीभट्टा क्षेत्र आसपास विराटनगरदेखि वीरगञ्जसम्मका जुवाडेहरू भेला हुने गरी जुवाको खाल सञ्चालन भइरहेको दाबी गरिएको छ।

स्रोतका अनुसार जुवाको खालमा बाहिरी जिल्लाबाट समेत व्यक्तिहरू आउने गरेका छन्। दिनको समयमा समेत जुवा सञ्चालन हुने गरेको दाबी गरिएपछि लामो समयदेखि यस्तो गतिविधि भइरहेको भए प्रहरीको निगरानी र कारबाही किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न उठेको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकसँग प्रतिक्रिया माग्दा उनले विगतमा जुवा खेल्ने गतिविधि हुने गरे पनि अहिले त्यस्तो जुवाखाल सञ्चालनमा नरहेको दाबी गरेका छन्।

यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णुप्रदीप बस्यालसँग प्रतिक्रिया लिन कार्यालयको नम्बरमा सम्पर्क गर्दा इन्स्पेक्टरले फोन उठाउँदै डीएसपी बिदामा रहेको जानकारी दिएका छन्।

धनुषा दरबन्दी भएका प्रहरी हवल्दार प्रमोद यादवको भूमिकामाथि समेत स्रोतले प्रश्न उठाएको छ। स्रोतका अनुसार यादवको दरबन्दी धनुषामा भए पनि पछिल्लो समय उनी सिरहामा रहेर विभिन्न गतिविधिमा सक्रिय छन्। विगतमा मधेस प्रदेशका विभिन्न जिल्लामा कार्यरत रहेका यादव पछिल्लो करिब दुई महिनादेखि सिरहामा रहेको र जुवाको ‘सेटिङ’ मिलाउने कार्यमा संलग्न रहेको आरोप स्रोतले लगाएको छ।

यादवलाई यसअघि तत्कालीन डीआईजी गोविन्द थपलियाले रौतहट पठाएको तथा पछि हालका डीआईजी ओम अधिकारीले धनुषा तानेर सिरहामा खटाएको दाबीसमेत स्रोतको छ। यद्यपि उनको काज, जिम्मेवारी र सिरहामा उपस्थितिको आधिकारिक अवस्थाबारे सम्बन्धित प्रहरी कार्यालयबाट स्पष्ट जानकारी सार्वजनिक हुन बाँकी छ।

स्रोतले यादवमाथि प्रहरीका उच्च अधिकारीहरूको नाम प्रयोग गरी रकम उठाउने तथा विभिन्न कारोबारीसँग सम्पर्कमा रहने आरोपसमेत लगाएको छ।

धनुषामा प्रहरीको निगरानी कडा भएपछि लहान क्षेत्रमा जुवाको गतिविधि बढेको दाबीसमेत स्रोतले गरेको छ। चिम्नीभट्टा आसपास ठूलो रकमको हारजित हुने गरी जुवा खेलाइने गरेको र केही व्यक्तिलाई विगतमा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको छ।

यसैबीच लहान क्षेत्रमा जुवासँगै विभिन्न वस्तुको अवैध ओसारपसार तथा तस्करीसम्बन्धी आरोपसमेत सार्वजनिक भएका छन्। मरिच, फर्सीको बीउ, स्याउ, कपडा तथा गाँजालगायतका सामानको अवैध ओसारपसार हुने गरेको र गोलबजार क्षेत्रमा चिनी तथा पटका राख्ने गोदाम प्रयोग भइरहेको दाबी स्रोतले गरेको छ। ती गोदामको सुरक्षामा समेत प्रहरीको संलग्नता रहने गरेको आरोप लगाइएको छ।

सिरहा प्रहरीले पछिल्लो समय लागूऔषध तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही गरिरहेको सार्वजनिक विवरणहरू छन्। लहानबाट लागूऔषधसहित पक्राउ तथा सिरहामा ठूलो परिमाणमा गाँजा बरामदलगायतका घटनामा प्रहरीले कारबाही गरेको जनाएको छ।

तर, लहान क्षेत्रमा ठूलो रकमको जुवा सञ्चालन भइरहेको दाबी सत्य भए त्यसबारे प्रहरीको निगरानी र कारबाहीको अवस्था के छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ। प्रहरीकै संरक्षण वा मिलेमतोमा यस्तो गतिविधि भइरहेको आरोपसमेत लागेकाले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ।

 

Facebook Comments Box
TOP
15 Shares