दसैँमा फुलपातीदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले दसैँको अवसरमा फुलपातीदेखि पूर्णिमासम्म देशभरका सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दसैँको समयमा लामो तथा मध्यम दूरीका यात्रुहरूलाई सहज आवतजावत गराउन विभिन्न स्थानमा रिजर्भमार्फत सवारी सञ्चालन हुने भएकाले सो अवधिका लागि रुट परमिट खुला गरिएको हो।

दसैँको समयमा सडकमा हुने अत्यधिक यातायात चापलाई व्यवस्थित गर्न अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकता दिइने विभागले जनाएको छ। फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोका लगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सहज आवागमनको व्यवस्था मिलाइने महानिर्देशक पोखरेलले बताए।

यात्रु ठगिने, कालोबजारी हुने तथा तोकिएकोभन्दा बढी भाडा असुल्ने अवस्था रोक्न विभागले प्रमुख नाका तथा बस स्टेसनहरूमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी गरेको छ।

काठमाडौँका बसपार्कसँगै नागढुंगा, कोटेश्वरलगायत प्रमुख नाकामा समेत यात्रु सहायता कक्ष स्थापना गरिने विभागले जनाएको छ। सहायता कक्षमार्फत यात्रुलाई भाडादर, सवारी सञ्चालन तथा यात्रासम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउनुका साथै गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइनेछ।

दसैँमा घर फर्किने यात्रुको चाप बढ्ने भएकाले सवारीसाधनको व्यवस्थापन, भाडादरमा पारदर्शिता र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक व्यवस्था मिलाइने विभागले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares