चाडपर्वमा ५० हजार प्रहरी परिचालन, सीमा नाकादेखि डिजिटल ठगीसम्म कडा निगरानी

काठमाडौं । बडादशैं, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ।

चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, डकैती, जुवातास, सट्टेबाजी, कालोबजारी, सीमा अपराध, सडक दुर्घटना तथा डिजिटल ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।

नेपाल प्रहरीले चाडपर्वमा नागरिकको सहज आवागमन, बैंक तथा वित्तीय संस्थाको सुरक्षा, बजार निगरानी तथा धार्मिक–सांस्कृतिक कार्यक्रमलाई सुरक्षित बनाउन देशभर ५० हजार ४५८ प्रहरी परिचालन गर्ने जनाएको छ।

देशभर प्रहरी नायब महानिरीक्षकको कमाण्डमा सुरक्षा जनशक्ति परिचालन गरिनेछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी सुरक्षा व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।

मुख्य बजार, सपिङ मल तथा मार्ट, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन क्षेत्र, सुनचाँदी कारोबार हुने स्थान तथा शहरका प्रवेश–निकास नाकामा विशेष निगरानी बढाइनेछ।

सुरक्षा व्यवस्थाका लागि पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, क्विक रेस्पोन्स टिम (क्यूआरटी), लामो दूरीको गस्ती, सादा पोशाकका प्रहरी तथा आकस्मिक चेकजाँच परिचालन गरिनेछ। शंकास्पद स्थान तथा मुख्य नाकामा तालिमप्राप्त कुकुरसमेत परिचालन गरी चेकजाँच गरिनेछ।

अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ भने देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ।

चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले लामो दूरीका सार्वजनिक यातायातमा समेत विशेष निगरानी गरिनेछ। काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीका चालकको लाइसेन्स, मादक पदार्थ सेवन तथा लागू पदार्थ सेवन परीक्षण गरिनेछ। सवारीको यान्त्रिक अवस्था परीक्षणको प्रमाणपत्र, सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको तथा छतमा सामान राखे–नराखेको विषयमा समेत कडाइ गरिनेछ।

यात्रुको सुरक्षाका लागि ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टीसीए) प्रयोग गरिनेछ। एउटा चेकपोस्टमा भएको जाँचको विवरण अर्को चेकपोस्टमा समेत उपलब्ध हुने भएकाले एउटै सवारी र चालकको निगरानी प्रभावकारी हुने प्रहरीले जनाएको छ।

यात्रु सहायता कक्षबाट टिकट, सडक मार्ग, सुरक्षा तथा गुनासोसम्बन्धी जानकारी उपलब्ध गराइनेछ। हराएका तथा भेटिएका व्यक्ति र सामानको खोजी तथा समन्वय, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष सहायता तथा यात्रुको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।

प्रहरीले प्रविधिमा आधारित सुरक्षा निगरानीलाई समेत प्राथमिकता दिएको छ। प्रमुख बजार, चोक, नाका तथा भीडभाड हुने क्षेत्रमा सीसीटीभीमार्फत निगरानी गरिनेछ भने आवश्यक स्थानमा ५२ वटा ड्रोन प्रयोग गरी हवाई निगरानी गरिनेछ। प्रहरी परिचालनमा बडी–वर्न क्यामेराको प्रयोगसमेत गरिने प्रहरीले जनाएको छ।

चाडपर्वमा अनलाइन कारोबार बढ्ने भएकाले डिजिटल ठगी नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। नक्कली अनलाइन सपिङ तथा ‘फेस्टिभल अफर’, नक्कली लटरी तथा उपहार, फेक इन्भेस्टमेन्ट, क्यूआर कोड तथा डिजिटल पेमेन्ट ठगी, मोबाइल बैंकिङ तथा वालेट ठगी र ओटीपी, पिन तथा पासवर्ड माग्ने फिसिङमा निगरानी बढाइनेछ।

पछिल्लो समय बढ्दै गएको एआईबाट तयार पारिएका नक्कली अडियो, भिडियो तथा आवाज प्रयोग गरी हुने ठगी र नक्कली पहिचान बनाएर गरिने अपराधलाई समेत प्रहरीले विशेष निगरानीमा राखेको छ। प्रहरीले ओटीपी, पिन, पासवर्ड तथा बैंकिङसम्बन्धी गोप्य विवरण कसैलाई पनि उपलब्ध नगराउन नागरिकलाई आग्रह गरेको छ।

त्यसैगरी चाडपर्वका नाममा हुने जुवातास, अवैध सट्टेबाजी, अत्यधिक मदिरा सेवन, झैझगडा तथा सार्वजनिक स्थानमा हुने उच्छृङ्खल गतिविधि नियन्त्रणमा पनि कडाइ गरिनेछ।

अन्तर्राष्ट्रिय खुला सीमा नाकाबाट पटका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्रीवितरण रोक्न विशेष चेकजाँच गरिनेछ। भन्सार छलीका सामान, कालोबजारी, कृत्रिम अभाव, महँगो मूल्य असुली तथा म्याद गुज्रिएका र मिसावटयुक्त खाद्य सामग्रीको बिक्री नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन गरिने प्रहरीले जनाएको छ।

चाडपर्वमा लामो समयका लागि घर छाडेर जाने नागरिकलाई समेत प्रहरीले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। ढोका–झ्याल, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गरेर मात्र घर छाड्न र आफू घरमा नरहेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक नगर्न प्रहरीले सुझाव दिएको छ।

आवासीय क्षेत्रमा स्थानीय समुदाय तथा टोल समितिसँग समन्वय गरी सीसीटीभी तथा अलार्म प्रणाली प्रयोग गर्न प्रोत्साहन गरिनेछ। लामो समय घर छाडेर जाने नागरिकलाई छिमेकी वा स्थानीय प्रहरीलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा नियन्त्रणमा प्रहरीले शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रम, भीडभाड हुने स्थान र सार्वजनिक क्षेत्रमा हुन सक्ने झैझगडा, लुटपाट तथा अन्य अप्रिय घटना रोक्न थप सुरक्षा परिचालन गरिनेछ।

नेपाल प्रहरीले सुरक्षित चाडपर्व निर्माण प्रहरीको मात्रै जिम्मेवारी नभई नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायको साझा जिम्मेवारी भएको जनाएको छ।

प्रहरीले भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोक्दा सावधानी अपनाउन, मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

त्यसैगरी आफन्त वा सरकारी अधिकारीको नाममा एआईबाट बनाइएको नक्कली आवाज वा भिडियो पठाएर असामान्य रकम मागिएमा तत्काल विश्वास नगर्न र कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

नेपाल प्रहरीले ‘सूचना–प्रविधि–प्रहरी परिचालन–नागरिक सहकार्य’लाई आधार बनाएर चाडपर्व सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।

प्रहरीले नागरिकलाई आश्वस्त पार्दै ‘ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईंहरूको साथमा छ’ भनेको छ।

आपत्कालीन अवस्थामा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ।

Facebook Comments Box
TOP
15 Shares