
महेश बर्तौलाको आपत्ति : ‘सांसद पद राज्यका संस्थालाई तर्साउने लाइसेन्स होइन’

काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठनका प्रमुख तथा उच्च अधिकारीहरूप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सांसदजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले राज्यको सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीको सार्वजनिक रूपमा हुर्मत लिने, धम्क्याउने तथा लाञ्छना लगाउने गतिविधि गर्न नहुने बर्तौलाको भनाइ छ ।
सार्वजनिक लेखा समितिअन्तर्गतको अध्ययन उपसमितिको बैठकपछि सांसद सुनारले प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसहित उच्च प्रहरी अधिकारीहरूप्रति दिएको अभिव्यक्तिको सन्दर्भमा बर्तौलाले सरकार र सत्तारूढ दलको ध्यानाकर्षण गराएका हुन् ।
बर्तौलाले सांसद पद व्यक्तिगत आक्रोश पोख्ने, राज्यका संस्थालाई तर्साउने वा धम्क्याउने तथा राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने लाइसेन्स नभएको बताएका छन् ।
“सांसदको पद व्यक्तिगत आक्रोश पोख्ने, राज्यका संस्थालाई तर्साउने वा धम्क्याउने, राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने अथवा दोषीको फैसला सुनाउँदै हिँड्ने न्यायाधीशको लाइसेन्स होइन,” बर्तौलाले भनेका छन् ।
लोकतन्त्रमा प्रश्न उठाउन र राज्यका संस्था तथा जिम्मेवार अधिकारीको आलोचना गर्न पाइने भए पनि आलोचनाको नाममा संस्थालाई कमजोर बनाउने गरी अराजकता, धम्की र चरित्रहत्यालाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
“लोकतन्त्रमा प्रश्न उठाउन पाइन्छ। राज्यका संस्था र जिम्मेवार अधिकारीको आलोचना पनि गर्न पाइन्छ। तर आलोचनाको नाममा राज्यका संस्थालाई कमजोर बनाउने गरी निरन्तर अराजकता, धम्की र चरित्रहत्या गर्ने छुट कसैलाई पनि हुँदैन,” उनले भनेका छन् ।
संसदीय दलका पूर्वमुख्य सचेतकसमेत रहेका बर्तौलाले प्रहरी संगठनका प्रमुख वा कुनै अधिकारीबाट कानुनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोष प्रमाणित भए कानुनबमोजिम कारबाही हुनुपर्ने बताएका छन् ।
तर सत्तापक्षका सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि पटक–पटक सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने, धम्क्याउने र अशिष्ट भाषा प्रयोग गर्ने गतिविधि गरिरहेको भन्दै उनले यस विषयमा सरकार र सम्बन्धित राजनीतिक दलको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।
“प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानुनविपरीत कुनै काम भएको छ भने निष्पक्ष छानबिन होस् र दोष प्रमाणित भए तत्काल कानुनबमोजिम कारबाही होस्,” बर्तौलाले भनेका छन्, “तर सत्तापक्षका एक जना सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि एक पटक होइन, दुई पटक होइन, निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने, धम्क्याउने र अशिष्ट भाषा प्रयोग गर्ने जुन गतिविधि गरिरहनुभएको छ, यो सत्तारूढ सांसदको दादागिरी र सत्ताको रवाफको पराकाष्ठा हो।”
समाज
थप सामाग्री
आसबारीबाट कुखुरा–चल्ला तस्करीको आरोप, डीएसपी कार्कीमाथि ‘लाइन’ दिएको आरोप
३ दिन अगाडि
3.4kViews 15 Shares Share on Facebook Share on Twitter वीरगंज । पर्साको सीमावर्ती आसबारी नाकाबाट भारतीय कुखुरा तथा कुखुराका चल्ला…





