नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन, कार्डियक अरेस्टबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान गम्भीर हृदयाघात भएपछि उनी बेहोस अवस्थामा भेटिएका थिए । तत्काल मणिपाल अस्पताल पुर्‍याइएका पाटेकरलाई चिकित्सकले बिहान ५ः२० बजे मृत घोषणा गरेका हुन् । उनलाई करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरिए पनि सफल हुन सकेन ।

अस्पतालका चिकित्सकका अनुसार उनको मृत्युको प्रारम्भिक कारण गम्भीर कार्डियक अरेस्ट देखिएको छ । घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको छ भने मृत्युको यकिन कारण पत्ता लगाउन पोस्टमार्टम गरिने जनाइएको छ ।

विश्वनाथ पाटेकर नामबाट जन्मिएका नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता तथा निर्देशक थिए । दशकौँ लामो अभिनय यात्रामा उनले विभिन्न चर्चित चलचित्रमा प्रभावशाली भूमिका निर्वाह गर्दै भारतीय चलचित्र क्षेत्रमा विशिष्ट पहिचान बनाएका थिए ।

उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ । पाटेकरका अभिनयका कारण उनी दर्शकमाझ विशेष रूपमा लोकप्रिय थिए ।

Facebook Comments Box
TOP
15 Shares