
बिम्स्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किंदै

काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएका गृहमन्त्री सुधन गुरुङ आज स्वदेश फर्किंदै छन् ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार मंगलबार बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आतंकवाद तथा सीमापार अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनले सूचनाको सुरक्षित आदानप्रदान, समन्वयात्मक कदम र प्रतिबद्धताको समयमै कार्यान्वयन आवश्यक रहेको बताएका थिए ।
गुरुङले विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन संयुक्त कार्यदलसहितको बिम्स्टेक क्षेत्रीय ढाँचा निर्माण गर्नसमेत प्रस्ताव गरेका थिए ।
बैठकका क्रममा गृहमन्त्री गुरुङले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् पूर्वतयारी र प्रतिकार्यका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
भेटका क्रममा गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले आपसी सम्मान, विश्वास र समानताका आधारमा दुवै देशका जनताको हितका लागि सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी, बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले पनि गृहमन्त्री गुरुङसँग भेट गरेका थिए । भेटमा उनले बिम्स्टेकअन्तर्गत भइरहेका काम तथा संगठनका प्राथमिकताबारे जानकारी गराएका थिए ।
समाज
थप सामाग्री
चाडपर्व लक्षित ट्राफिक जाँचमा १८ चालक कारबाहीमा, ६० सवारीको अवस्था कमजोर
२ दिन अगाडि
2.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको…





