दसैँ मनाउन घर फर्किनेको चाप बढ्यो, साढे दुई लाखभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । दसैँको फूलपाती नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। चाडपर्व मनाउन गाउँ फर्किनेको संख्या बढेसँगै कलंकी, कोटेश्वर, बल्खुलगायतका प्रमुख स्थानमा यात्रुको भीड बढेको छ भने विभिन्न राजमार्गमा सवारीसाधनको चापसमेत बढ्न थालेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि बिहीबारसम्म साढे दुई लाखभन्दा बढी सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। यस वर्ष दसैँ मनाउन करिब १० लाख सर्वसाधारणले उपत्यका छाड्ने प्रहरीको अनुमान छ।

दसैँमा घर फर्किने यात्रुको संख्या बढेसँगै सम्भावित दुर्घटना न्यूनीकरण र यात्रालाई सुरक्षित तथा सहज बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ। प्रहरीले सवारीसाधनको यान्त्रिक अवस्था, चालकका आवश्यक कागजात तथा ट्राफिक नियमको पालना भए–नभएको जाँचलाई तीव्रता दिएको छ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सवारी चालकलाई सावधानीपूर्वक सवारी चलाउन, क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ।

दसैँ मनाउन घर फर्किने यात्रुको संख्या अझै बढ्ने अनुमान गरिएकाले यात्रुको सुरक्षित आवागमन व्यवस्थापन गर्न ट्राफिक प्रहरी सक्रिय रहेको छ।

Facebook Comments Box
TOP
30 Shares