राजदूत सिफारिस भएका खरेलमाथि राजीव खत्रीको प्रश्नैप्रश्न, संसदीय सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी विभिन्न आरोप उठाएका छन्। संसदीय सुनुवाइका क्रममा खत्रीले खरेलमाथि गम्भीर प्रश्न उठाएपछि थप अध्ययन गर्न भन्दै सुनुवाइ प्रक्रिया स्थगित गरिएको छ।

सुनुवाइका क्रममा सांसद खत्रीले झापाका केही स्थानीयसँग अनुदान मिलाइदिने भन्दै लाखौँ रुपैयाँ लिएको र राजदूतमा नियुक्तिका लागि सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको भन्ने सूचना आफूले पाएको दाबी गरे।

खत्रीले खरेलले सञ्चालन गर्ने सामाजिक सञ्जालका खाताबारे समेत प्रश्न उठाए। पैसा लिएपछि केही व्यक्तिलाई सामाजिक सञ्जालमा ब्ल्याकलिस्टमा राख्ने गरिएको भन्दै प्रमाणसहितका उजुरी प्राप्त भएको उनको भनाइ थियो।

त्यस्तै, केही म्यानपावर व्यवसायीसँग राजदूत भएर काम गर्ने भन्दै रकम लिएको र उनीहरूले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको आरोपसमेत खत्रीले लगाए। यससम्बन्धी विवरण र गाडीको नम्बरसमेत आफूहरूलाई उपलब्ध भएको उनले दाबी गरे।

खत्रीले विभिन्न सङ्घसंस्थामा काम गर्दा लाखौँ रुपैयाँ बेरुजु रहेको तथा पोखराको सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोडौँ रुपैयाँ लिएको भन्ने आरोप पनि उठाए। उनले यी विषयमा स्पष्ट जवाफ दिन प्रस्तावित राजदूत खरेलसँग माग गरे।

तर, खरेलले सांसद खत्रीले लगाएका आरोप अस्वीकार गर्दै ती गतिविधिमा आफ्नो संलग्नता नरहेको जवाफ दिए।

सुनुवाइका क्रममा उठेका आरोप र खरेलको जवाफपछि थप अध्ययन आवश्यक रहेको भन्दै संसदीय सुनुवाइ प्रक्रिया स्थगित गरिएको हो। आरोपहरूबारे थप छानबिन र प्रमाणको परीक्षणबाट मात्रै वास्तविकता स्पष्ट हुने देखिन्छ।

Facebook Comments Box
TOP
15 Shares