इन्जिनियर लामिछानेको गाईभैँसी फार्मबाट मासिक १५ लाख बचत, १० करोड लगानीमा २५० पशु

काठमाडौं । मिहिनेत, लगनशीलता र व्यावसायिक सोच भए कृषि तथा पशुपालनबाट पनि आकर्षक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका सिभिल इन्जिनियर कुमार लामिछाने। काठमाडौंको नागार्जुन नगरपालिका–६, रामकोट डाँडापौवामा गाईभैँसी पालन व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैयाँसम्म आम्दानी गर्दै खर्च कटाएर १५ लाख रुपैयाँ बचत गर्ने गरेका छन्।

गोरखाको सिरानचोक गाउँपालिका–७, खहरेका लामिछानेले २०७७ साल जेठमा ‘क्षितिज एकीकृत कृषि फार्म प्रालि’ स्थापना गरी पशुपालन व्यवसाय सुरु गरेका हुन्। सुरुमा ३० वटा भैँसीबाट व्यवसाय थालेका उनले अहिले आफ्नो फार्ममा २०० गाई र ५० भैँसी गरी २५० वटा पशु पालेका छन्।

करिब १० करोड रुपैयाँ लगानीमा सञ्चालन भइरहेको उनको फार्म ६ रोपनी जग्गामा फैलिएको छ। उक्त जग्गाको मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरेको लामिछानेले बताएका छन्।

इन्जिनियरिङ पेसामा आबद्ध रहेकै अवस्थामा पशुपालन व्यवसायमा हात हालेका लामिछानेले जीवनसाथी इन्जिनियर सङ्गीताको सहयोग र सहकार्यमा दुवै पेसालाई अघि बढाइरहेका छन्। निर्माण क्षेत्रसँग सम्बन्धित काम गर्दै आएका उनले पछिल्लो सात वर्षदेखि इन्जिनियरिङसँगै पशुपालन व्यवसायलाई पनि निरन्तरता दिँदै आएका हुन्।

‘इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें। सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीताको सहयोग र सहकार्यमा इन्जिनियरिङ पेसासँगै गाईभैँसी पालन व्यवसाय पनि गर्दै आएको छु। यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,’ लामिछानेले भने।

उनको फार्ममा दैनिक करिब एक हजार २०० लिटर दूध उत्पादन हुने गरेको छ। उत्पादित दूधमध्ये केही दुग्ध विकास संस्थान (डीडीसी) र नमुना डेरीमा बिक्री हुने गरेको छ भने बाँकी काठमाडौं उपत्यकाका विभिन्न डेरीमा वितरण गरिँदै आएको छ।

लामिछानेका अनुसार हाल भैँसीको दूध प्रतिलिटर १७० रुपैयाँ र गाईको दूध प्रतिलिटर १०० रुपैयाँमा बिक्री हुँदै आएको छ। दूध दुहुनका लागि फार्ममा मेसिनसमेत जडान गरिएको छ, जसले दूध सङ्कलन प्रक्रियालाई सहज बनाउन सहयोग गरेको छ।

फार्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी करिब ५० जनाले रोजगारी पाएका छन्। दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको लामिछाने बताउँछन्। तर, पशुका लागि आवश्यक पराल, दाना तथा अन्य सञ्चालन खर्च कटाउँदा मासिक करिब १५ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ।

गाईभैँसीलाई खुवाउने पराल र दानामा ठूलो रकम खर्च हुने गरेको उनले बताएका छन्। पशुपालन व्यवसायमा आम्दानी राम्रो देखिए पनि पशुको आहार, हेरचाह, श्रम र व्यवस्थापनमा पर्याप्त लगानी तथा निरन्तर मेहनत आवश्यक पर्ने उनको अनुभव छ।

इन्जिनियरिङजस्तो प्राविधिक पेसामा आबद्ध रहेर पनि कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोजेका लामिछानेको व्यवसायले व्यावसायिक पशुपालनमार्फत रोजगारी सिर्जना र आम्दानी वृद्धि गर्न सकिने देखाएको छ। परम्परागत रूपमा गरिँदै आएको पशुपालनलाई आधुनिक प्रविधि, व्यावसायिक योजना र बजार व्यवस्थापनसँग जोड्न सके यस क्षेत्रलाई पनि आर्थिक समृद्धिको बलियो आधार बनाउन सकिने उनको व्यवसायले उदाहरण प्रस्तुत गरेको छ।

Facebook Comments Box
TOP
15 Shares