खगेन्द्र र गिरीबहादुर सुनार प्रकरणमा ओशो तपोवनको आपत्ति, व्यक्तिगत घटनामा संस्था नजोड्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र साउदी अरबका लागि प्रस्तावित राजदूतमा सिफारिस भएर अस्वीकृत भएका गिरीबहादुर सुनारसँग सम्बन्धित प्रकरणमा आफ्नो संस्थाको नाम जोडिएपछि ओशो तपोवनले आपत्ति जनाएको छ। तपोवनले व्यक्तिगत विषय तथा घटनालाई संस्थासँग जोडेर समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र संस्थागत मर्यादाको सम्मान गर्न अनुरोध गरिएको छ। ध्यान, साधना र आध्यात्मिक सद्भावमा समर्पित संस्थालाई व्यक्तिका निजी विषय, व्यवहार तथा विवादसँग जोड्नु उचित नहुने तपोवनको भनाइ छ।

खगेन्द्र सुनार र गिरीबहादुर सुनारसँग सम्बन्धित घटनाहरू सार्वजनिक चर्चामा आएपछि उनीहरूको ओशो तपोवनसँगको सम्बन्ध, ओशोको लकेट धारण गरेको विषय तथा चिनजान र भेटघाटका प्रसङ्गसमेत चर्चामा आएका थिए। त्यसपछि विभिन्न समाचार तथा सार्वजनिक टिप्पणीमा ओशो तपोवनको नाम जोडिन थालेको थियो।

यही विषयप्रति ध्यानाकर्षण गराउँदै तपोवनले आफ्ना गतिविधि र उद्देश्यभन्दा बाहिरका व्यक्तिगत घटनामा संस्थाको नाम जोडेर समाचार सम्प्रेषण गरिएको जनाएको छ। संस्थामा आउने ओशो सन्यासी, साधक तथा प्रेमीहरूको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “ओशो सन्यासी, साधक तथा प्रेमीहरूको व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको सम्मान गर्दै निजी जीवनमा हस्तक्षेप नगर्न तथा तपोवनसँग जोडेर व्यक्तिगत विषय, व्यवहार वा विवादलाई संस्थासँग जोड्नु उचित हुँदैन।”

उपलब्ध विवरणअनुसार रास्वपा सांसद खगेन्द्र सुनार ओशो गुरुबाट दीक्षित भएपछि स्वामी ध्यान आशिष नामले चिनिन्छन् भने साउदी अरबका लागि प्रस्तावित राजदूतमा सिफारिस भएर अस्वीकृत भएका गिरीबहादुर सुनारको दीक्षित नाम स्वामी ध्यान आकान्त रहेको बताइएको छ।

व्यक्तिगत रूपमा कुनै आध्यात्मिक गुरुबाट दीक्षित हुनु वा कुनै संस्थासँग सम्बन्ध राख्नु र सम्बन्धित व्यक्तिको निजी जीवनमा उठेका विवादमा संस्था प्रत्यक्ष संलग्न हुनु फरक विषय हुन्। कुनै व्यक्तिसँगको सम्बन्धकै आधारमा संस्थालाई विवादमा तान्नु उचित नहुने तपोवनको विज्ञप्तिको आशय देखिन्छ।

ओशो तपोवनको आग्रहसँगै व्यक्तिगत गोपनीयताको सम्मान र सार्वजनिक पदमा रहेका व्यक्तिसँग सम्बन्धित विषयमा तथ्यपरक पत्रकारिता गर्ने दायित्वबीचको बहससमेत अघि आएको छ।

Facebook Comments Box
TOP
15 Shares