दसैँ मनाउन सात दिनमा साढे चार लाख यात्रुले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या दिनहुँ बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सात दिनको अवधिमा चार लाख ३१ हजार ४९२ जना यात्रुले उपत्यका छाडेका छन्।

ट्राफिक प्रहरीका अनुसार बिहीबार मात्रै उपत्यकाका विभिन्न नाकाबाट ८५ हजार ५६१ जना यात्रु बाहिरिएका छन्। यसअघि बुधबार ७४ हजार ९४७ र मंगलबार ७८ हजार १३८ जना यात्रुले उपत्यका छाडेका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार असोज २३ देखि २९ गतेसम्म चार लाख ३१ हजार ४९२ जना यात्रु बाहिरिएका हुन्। शुक्रबार पनि उपत्यका छाड्ने यात्रुको चाप उच्च रहेको उनले बताए। शनिबारसम्म यात्रुको चाप कायम रहने र त्यसपछि क्रमशः घट्ने ट्राफिक प्रहरीको अनुमान छ।

दसैँ मनाउन आफ्नो जन्मथलो तथा गृहजिल्ला फर्किने परम्पराका कारण हरेक वर्ष चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य हुने गरेको छ। विगतका वर्षमा दसैँका अवसरमा औसतमा १० लाखसम्म यात्रुले उपत्यका छाड्ने गरेका छन्।

चाडपर्वका बेला यात्रुको चाप बढेसँगै सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण र चालकको निगरानीलाई तीव्र बनाएको छ। बसपार्क तथा विभिन्न स्थानमा सवारीसाधनको अवस्था जाँच गरेर मात्रै गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ।

एसपी सुवेदीका अनुसार यान्त्रिक परीक्षणका क्रममा ९६ वटा सवारीसाधन सञ्चालनका लागि अनुपयुक्त पाइएको छ। ती सवारीसाधनलाई कारबाही गरी आवश्यक मर्मतसम्भारपछि मात्रै सञ्चालन गर्न अनुमति दिइएको उनले बताए।

त्यस्तै, लामो दूरीका सवारीसाधनलाई लक्षित गरी ट्राफिक प्रहरीले दिउँसोको समयमा समेत मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) जाँचलाई कडाइ गरेको छ। असोज २५ गतेयता मापसे गरी सवारी चलाउने ४५५ जना र लापसे गरी सवारी चलाउने १८ जना चालक कारबाहीमा परेका छन्।

लामो दूरीको यात्रालाई सुरक्षित बनाउन सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा समेत ट्राफिक प्रहरीले कडाइ गरेको छ।

दसैँको खुसीमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सडक अनुशासनमा ध्यान दिनु उत्तिकै आवश्यक छ। सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक नियमको पालना, सवारीसाधनको नियमित जाँच र जिम्मेवार चालक व्यवहारले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

Facebook Comments Box
TOP
30 Shares