
नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दुर्गामध्ये छैटौँ स्वरूपका रूपमा पूजिने माता कात्यायनीलाई शक्ति, साहस र विजयकी प्रतीक देवीका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार नवरात्रको छैटौँ दिन माता कात्यायनीको पूजा गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश हुने तथा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। भक्तजनले बिहानै स्नान गरी शुद्ध वस्त्र धारण गरेर देवीको पूजा, मन्त्रजप, स्तोत्रपाठ र आरती गर्ने गर्दछन्।
पौराणिक कथाअनुसार महर्षि कात्यायनले भगवती पराम्बालाई पुत्रीका रूपमा प्राप्त गर्न लामो समयसम्म कठोर तपस्या गरेका थिए। उनको तपस्याबाट प्रसन्न भएकी भगवतीले पुत्रीका रूपमा जन्म लिएकाले उनको नाम कात्यायनी रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
अर्को पौराणिक कथाअनुसार महिषासुरले देवता तथा त्रिलोकमा आतङ्क मच्चाएपछि ब्रह्मा, विष्णु र महेश्वरसहितका देवताहरूको तेजबाट देवीको उत्पत्ति भएको थियो। महर्षि कात्यायनले सर्वप्रथम देवीको पूजा गरेको मान्यताका आधारमा उनलाई कात्यायनी भनिएको हो। देवीले महिषासुरको वध गरी देवता तथा समस्त लोकलाई भयमुक्त गराएको धार्मिक विश्वास छ।
माता कात्यायनीलाई अमोघ फल प्रदान गर्ने देवीका रूपमा पनि लिइन्छ। द्वापर युगमा भगवान् श्रीकृष्णलाई पतिका रूपमा प्राप्त गर्ने कामनासहित ब्रजका गोपिनीहरूले यमुना नदीको किनारमा माता कात्यायनीको पूजा गरेको प्रसङ्गसमेत पुराणहरूमा पाइन्छ।
स्वर्णसमान चम्किलो वर्ण भएकी माता कात्यायनी चतुर्भुज स्वरूपमा विराजमान रहेको धार्मिक वर्णन छ। उनका दाहिनेतर्फका हात अभय र वरमुद्रामा तथा देब्रोतर्फका हातमा तरबार र कमलको फूल रहेको बताइन्छ। सिंहलाई आफ्नो वाहन बनाएकी देवीलाई साहस, पराक्रम र दुष्ट शक्तिमाथिको विजयको प्रतीकका रूपमा पूजिन्छ।
नवरात्रको छैटौँ दिन भक्तिभावका साथ माता कात्यायनीको आराधना गर्दा धर्म, अर्थ, काम र मोक्ष गरी चार पुरुषार्थ प्राप्त हुने धार्मिक विश्वास छ। यस दिन देवीको पूजा, ध्यान र मन्त्रजप गर्नुका साथै साँझ बेलको फेदमा बसेर जागरण गर्नुलाई पनि फलदायी मानिन्छ।
बडादसैँको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीलगायत देशभरका शक्तिपीठ तथा दसैँघरमा भक्तजनको चहलपहल रहने गर्दछ। भक्तजनले देवी दुर्गाका विभिन्न स्वरूपको पूजा गर्दै परिवारको सुख, शान्ति, स्वास्थ्य, समृद्धि र कल्याणको कामना गर्ने परम्परा छ।
माता कात्यायनीको पूजामा रातो फूल, चन्दन, सिन्दूर, धूप, दीप, फलफूल, नैवेद्य तथा अन्य पूजासामग्री अर्पण गरिन्छ। पूजाका क्रममा ‘ॐ देवी कात्यायन्यै नमः’ मन्त्र जप गर्दै देवीको स्तुति र आरती गर्ने धार्मिक विधि छ।
**माता कात्यायनीको प्रार्थना मन्त्र**
चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी॥
या देवी सर्वभूतेषु माता कात्यायनी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
समाज
थप सामाग्री-
नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको पूजाआराधना गरिँदै
-
दसैँ मनाउन घर फर्किनेको चाप बढ्यो, साढे दुई लाखभन्दा बढीले छाडे काठमाडौं उपत्यका
-
आजको राशिफल : असोज २९ गते बिहीबार, कुन राशिका लागि कस्तो छ दिन?
-
प्रहरीको वास्तविक शक्ति नागरिकको विश्वास हो : आईजीपी कार्की
-
बदलिँदो भौगोलिक वातावरण र नेपालीको भविष्य
आज असोज २८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि
3.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष– ठूलो योजना बनाउँदै हुनुहुन्छ भने केही समय पर्खिएर अघि बढ्नु…





