आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

बिहानको समयमा तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले यातायात तथा दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares