साउदी अरबको यात्रा नगर्न इटालीको आग्रह, विमानस्थल प्रयोगमा समेत रोक

काठमाडौँ । साउदी अरबको सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै इटालीले आफ्ना नागरिकलाई साउदी अरबका सबैखाले यात्रा स्थगित गर्न र त्यहाँका विमानस्थल प्रयोग नगर्न पुनः आग्रह गरेको छ ।

पछिल्ला दिनमा इरानसमर्थित हुथी विद्रोहीका आक्रमण भइरहेका बेला बुधबार साउदी अरबको शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी ड्रोन आक्रमण भएको थियो । उक्त आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको थियो ।

इटालीको विदेश मन्त्रालयले अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे छिमेकी मुलुकका विमानस्थल तथा वैकल्पिक हवाई मार्ग प्रयोग गर्न सुझाव दिएको छ । मन्त्रालयले साउदी अरबमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन, स्थानीय अधिकारीका निर्देशन पालना गर्न र आपत्कालीन अवस्था उत्पन्न भए सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ ।

त्यसैगरी, सैन्य तथा सुरक्षा प्रतिष्ठान, ऊर्जा केन्द्र र यातायात पूर्वाधारबाट टाढा रहन पनि मन्त्रालयले सचेत गराएको छ । यमनसँग सीमा जोडिएका जाजान, नजरान र असीर प्रान्तमा यात्रा नगर्नसमेत इटालीले आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

साउदी अरबमा सुरक्षा जोखिम बढ्दै गएको सन्दर्भमा इटालीले जारी गरेको यो चेतावनीले त्यहाँ रहेका विदेशी नागरिकको सुरक्षा र क्षेत्रीय अवस्थाप्रति थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ ।

Facebook Comments Box
TOP
15 Shares