
कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौँ । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन आज धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइँदैछ।
कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो बडादसैँ पर्वको औपचारिक समापन हुने धार्मिक मान्यता छ। यस दिन महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बस्ने परम्परा रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आजै सम्पन्न हुन्छ।
अखिल बलिपूर्ति भएसँगै विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम पनि समाप्त हुन्छ। दसैँमा घरघरमा राखिएको जमरा आज नजिकैका नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगी विसर्जन गर्ने परम्परा छ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै सुरु भएको दुर्गा पक्ष नेपालीले आफ्नो परम्परा, आस्था र गच्छेअनुसार मनाउँदै आएका छन्। कोजाग्रत पूर्णिमाका दिन साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने चलन छ।
समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाको रात पृथ्वी भ्रमणमा निस्किएकी महालक्ष्मी जाग्राम बसेका मानिसका घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा कोजाग्रत पूर्णिमा मनाउने परम्परा सुरु भएको मानिन्छ।
माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको पूजा आराधना गरी दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्रको समापन विजयादशमीका दिन हुने भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने धार्मिक मान्यता छ। लक्ष्मीपूजाभन्दा १५ दिनअघि नै महालक्ष्मीको आराधना गरिने भएकाले पनि यस पूर्णिमाको विशेष महत्त्व रहेको छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
धार्मिक परम्पराअनुसार आज राति जुवा खेल्ने चलनसमेत रहेको अध्यक्ष भट्टराईले बताएका छन्। यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा आराधना गर्ने विधान रहेको छ।
यसैबीच, कार्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। त्यसै दिन साँझदेखि आकाशदीपदान गर्ने परम्परासमेत सुरु हुनेछ।
समाज
थप सामाग्री-
बाढीपहिरोले गोरखा र सुर्खेतका सडक प्रभावित, केही स्थानमा यातायात अवरुद्ध
-
आज कार्तिक ८ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
स्मार्ट घर बनाउनेलाई नक्सापास दस्तुरमा शतप्रतिशत छुट, सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्मको प्रस्ताव
-
कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै
-
पर्साको सीमावर्ती क्षेत्रमा घुमुवा प्रहरी बनेर असुली गरेको आरोप लागेका अशोक वर्णवाल पक्राउ, मुद्दा नचलाउन नेतामार्फत दबाब
विजया दशमीको तेस्रो दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै
२ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि नेपालीहरू मान्यजनको…





