फ्रान्समा महँगी र सरकारी नीतिविरुद्ध विशाल प्रदर्शन, झडपपछि एक हजार पक्राउ

पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारका नीतिविरुद्ध फ्रान्सभर शनिबार भएको बृहत् प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप हुँदा करिब एक हजार जना पक्राउ परेका छन् ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर आयोजित प्रदर्शनमा करिब चार लाख १० हजार मानिस सहभागी भएका थिए । तर मजदुर सङ्गठनहरूले भने प्रदर्शनमा सहभागी हुनेको सङ्ख्या करिब आठ लाख रहेको दाबी गरेका छन् । राजधानी पेरिसको दक्षिणपूर्वी क्षेत्रमा आयोजित मुख्य प्रदर्शनमा मात्रै कम्तीमा एक लाख १० हजार मानिस सहभागी भएको बताइएको छ ।

दिनभरजसो शान्तिपूर्ण रहेको प्रदर्शन साँझ पर्दै जाँदा राजधानी पेरिससहित मार्सेई, लियोँ र बोर्डोमा हिंसात्मक बनेको थियो । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । केही स्थानमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै आगजनीसमेत गरेका थिए ।

प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले देशभर ७० हजार प्रहरी तथा जन्डार्म परिचालन गरेको थियो । यो सङ्ख्या गत साताको तुलनामा १० हजार बढी हो ।

गत अक्टोबर १७ मा भएको प्रदर्शनपछि फ्रान्सका विभिन्न स्थानमा व्यापक लुटपाट, तोडफोड र आगजनीका घटना भएका थिए । त्यसक्रममा दुई हजार पाँच सयभन्दा बढी मानिस पक्राउ परेका थिए ।

पेरिसमा पोर्त द’इटालीदेखि पोर्त द भिन्सेन्नेससम्म निकालिएको जुलुसको अन्त्यमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । केही प्रदर्शनकारीले अस्थायी अवरोध खडा गर्नुका साथै सुरक्षाकर्मीमाथि विभिन्न वस्तु प्रहार गरेका थिए ।

त्यसैगरी, कार बिक्री केन्द्रका सिसा फुटाउन खोज्ने मुख छोपेका युवाहरूलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो ।

फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै भएको प्रदर्शनले सरकारमाथि दबाब बढाएको छ । प्रदर्शनका क्रममा भएको हिंसा र व्यापक धरपकडले देशको सुरक्षा अवस्था तथा सार्वजनिक व्यवस्थापनबारे थप प्रश्नसमेत उठाएको छ ।

Facebook Comments Box
TOP
15 Shares