सर्लाहीको कैलाशपुरीमा लाखौँको कौडा, हरिवन प्रहरीको भूमिकामाथि प्रश्न

सर्लाही । सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्ने कैलाशपुरी क्षेत्रमा दसैँको अवसर पारेर लाखौँ रुपैयाँको हारजित हुने गरी कौडा तथा अन्य जुवाजन्य गतिविधि सञ्चालन हुने गरेको आरोप लागेको छ । धार्मिक स्थलसमेत जुवाजन्य गतिविधिको अखडा बनेको दाबी सार्वजनिक भएपछि स्थानीय सुरक्षा व्यवस्था र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

स्थानीय स्रोतका अनुसार कैलाशपुरी क्षेत्रमा दसैँका बेला तासदेखि कौडासम्मका जुवाजन्य गतिविधि हुने गरेका छन् । घुर्कौलीका सुकमान लामाले जुवा सञ्चालन गर्दै आएको र एक मन्दिरमा समेत रातभर लाखौँ रुपैयाँको कौडा खेलाइने गरेको आरोप लगाइएको छ ।

यस प्रकरणमा प्रहरी कर्मचारीको सहयोग र संरक्षण रहेको आरोपसमेत लगाइएको छ । स्रोतले जुवा सञ्चालनमा सुकमान लामा र व्यवस्थापनमा इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत सहायक हवल्दार दिनेश यादवको भूमिका रहेको दाबी गरेको छ । स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्मका सुरक्षा अधिकारीसँग मिलेमतो रहेको आरोपसमेत सार्वजनिक भएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाको कमान्डमा रहेको क्षेत्रमा यस्तो गतिविधि भएको आरोप लागेपछि प्रहरीको निगरानी, सूचना संयन्त्र र जुवातास नियन्त्रणसम्बन्धी कार्यसम्पादनमाथि चासो बढेको छ ।दसैँजस्ता ठूला चाडपर्वमा जुवातास नियन्त्रण, शान्तिसुरक्षा कायम र गैरकानुनी गतिविधि रोक्नु प्रहरीको प्रमुख जिम्मेवारी हो ।

त्यसैले कैलाशपुरीमा कौडा तथा अन्य जुवाजन्य गतिविधि सञ्चालन भएको भनिएको विषयमा सम्बन्धित प्रहरीका उच्च अधिकारीले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ ।

Facebook Comments Box
TOP
15 Shares