धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन् भने उनीहरूका चार वर्षीय छोरा घाइते अवस्थामा भेटिएका छन्।

मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उमेशको घर मिथिला बिहारी नगरपालिका–४ भरतपुरमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी शुक्रबार ससुराली पुगेका थिए।

घटनामा दम्पतीका चार वर्षीय छोरा पनि घाइते भएका छन्। बालकको एउटा तिघ्रामा धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

घटनामा संलग्न व्यक्ति, घटनाको कारण र घटनाक्रमबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
30 Shares