
महालक्ष्मीको पूजा आराधना र जाग्रामसँगै दसैँ पर्व समापन

काठमाडौँ । धनधान्य, सुख, समृद्धि र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना तथा रात्रि जाग्राम बसेर आइतबार कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ। यससँगै १५ दिन लामो बडादसैँ पर्व औपचारिक रूपमा समापन भएको छ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै सुरु भएको दुर्गा पक्ष अर्थात् बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा नेपालीले घरघरमा महालक्ष्मीको पूजा आराधना गरेका हुन्। धार्मिक मान्यताअनुसार यस दिन साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने चलन छ।
कोजाग्रत पूर्णिमाको रात पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका भक्तजनका घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईले बताएका छन्।
शास्त्रीय विधिअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आइतबार नै सम्पन्न भएको समितिले जनाएको छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम समाप्त भएको छ। दसैँमा लगाइएको जमरालाई पनि आइतबार नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा विसर्जन गरिएको छ।
नवरात्र विजयादशमीकै दिन सम्पन्न भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने धार्मिक परम्परा छ। लक्ष्मीपूजाको करिब १५ दिनपछि महालक्ष्मीको विशेष आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको धार्मिक महत्त्व विशेष रहेको मानिन्छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
कोजाग्रत पूर्णिमाका अवसरमा महालक्ष्मीसँगै ऐरावत हात्तीमा विराजमान देवराज इन्द्रको समेत पूजा गर्ने परम्परा छ। यस दिन रातभर जाग्राम बस्ने तथा परम्पराअनुसार जुवा खेल्ने चलनसमेत रहेको अध्यक्ष भट्टराईले बताएका छन्।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस अवधिमा दुर्गा भवानीको पूजा, टीका, जमरा र मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै मनाइएको दसैँ कोजाग्रत पूर्णिमासँगै बिदा भएको छ।
समाज
थप सामाग्री
स्मार्ट घर बनाउनेलाई नक्सापास दस्तुरमा शतप्रतिशत छुट, सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्मको प्रस्ताव
१ दिन अगाडि
2.3kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बढ्दो सहरीकरणलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले…





