एनपिएल सुरक्षामा प्रहरीको विशेष निगरानी, बेटिङदेखि म्याच फिक्सिङसम्म नियन्त्रण गर्ने तयारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ। प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङ, म्याच फिक्सिङ तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीका विशेष टोली परिचालन गरिने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार प्रतियोगिताको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आयोजक नेपाल क्रिकेट संघ (क्यान)सँग नियमित छलफल गरी योजना बनाइएको छ। खेलका क्रममा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको उनले बताए।

अनलाइन बेटिङदेखि सम्भावित म्याच फिक्सिङसम्मका गतिविधिमाथि निगरानी गर्न विशेष प्रहरी टोली गठन गरिएको छ। प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी कर्मचारीसमेत सम्भावित म्याच फिक्सिङको निगरानीमा खटाइनेछन्।

यसअघिका सिजनमा क्रिकेट मैदानमै बसेर बेटिङ सञ्चालन गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका घटनालाई ध्यानमा राख्दै प्रहरीले यसपटक डिजिटल निगरानी र सूचनामा आधारित सुरक्षा रणनीति अपनाउने भएको छ। त्यस्ता गतिविधिमा संलग्न समूह पुनः सक्रिय हुन सक्ने आशंकामा प्रविधिको प्रयोगसँगै सादा पोसाकका प्रहरीमार्फत पनि नियमित निगरानी गरिनेछ।

राष्ट्रिय प्रतिष्ठासँग जोडिएको प्रतियोगितामा सुरक्षा कमजोरी हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। यसपटक अघिल्ला सिजनको तुलनामा बढी विदेशी खेलाडी सहभागी हुने भएकाले उनीहरूको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा एक हजार १२५ प्रहरी परिचालन गरिनेछ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरी बलसमेत परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

खेलाडीहरू बस्ने होटलमा पनि सुरक्षा व्यवस्था मिलाइएको छ। रंगशालामा दैनिक तालिमप्राप्त कुकुरसहित सुरक्षा जाँच गरिने र आवश्यक निगरानीका लागि ड्रोनसमेत प्रयोग गरिने एसपी थापाले जानकारी दिए।

‘एनपिएलमा इन्टेलिजेन्समा आधारित पुलिसिङ हुन्छ,’ उनले भने, ‘सादा पोसाकका प्रहरीबाट सूचना संकलन गर्नेदेखि प्रविधिको उच्चतम प्रयोगसम्मका उपाय अपनाइनेछन्।’

एनपिएलको सुरक्षा व्यवस्थाबारे शनिबार जिल्ला प्रहरी परिसरका अधिकारी, अन्य सुरक्षा निकायका प्रतिनिधि र क्यानका पदाधिकारीबीच छलफल भएको थियो। आइतबार साँझ उच्च प्रहरी अधिकारीले समेत रंगशाला क्षेत्रमै पुगेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए। क्यानसँगको छलफलमा खेलाडीको सुरक्षा, पार्किङ व्यवस्थापनलगायत विषयमा पनि विचारविमर्श गरिएको थियो।

विगतका वर्षमा पार्किङ व्यवस्थापन र टिकटको विषयलाई लिएर समस्या देखिएको थियो। यसपटक पार्किङ क्षेत्र विस्तार गरिएको छ। टिकट नपाएको भन्दै रंगशालाबाहिर नाराबाजी हुने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले टिकट वितरणसम्बन्धी सूचना समयमै र पारदर्शी रूपमा सार्वजनिक गर्न आयोजकलाई आग्रह गरेको छ।

प्रतियोगिताका क्रममा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अनलाइन बेटिङ तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिमाथि पनि निगरानी गरिने प्रहरीले जनाएको छ। खेलाडी, दर्शक र आयोजक सबैको सुरक्षा सुनिश्चित गर्दै प्रतियोगितालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने लक्ष्यसहित प्रहरीले सुरक्षा तयारी तीव्र पारेको छ।

Facebook Comments Box
TOP
30 Shares