गगन थापा आज स्याङ्जा जाँदै, मनकामना मन्दिर उद्घाटन गर्ने

स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । थापाले बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार थापाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरी उनीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ । मेलालाई लक्षित गरी गाउँपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले कोजाग्रत पूर्णिमाको मेला तथा धार्मिक गतिविधिलाई लक्षित गरी सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।

Facebook Comments Box
TOP
15 Shares