
महोत्तरीका सीमावर्ती नाकामा तस्करीको जालो फैलियो, डिआईजीको नाम बेच्दै ‘घुमुवा आतंक’!

महोत्तरी । मधेश प्रदेशको महोत्तरीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसारका गतिविधि बढेको आरोप सार्वजनिक भएको छ।
भिट्ठामोड, सुगा, कटैया र सम्सीलगायतका सीमावर्ती नाकाबाट दैनिक ठूलो परिमाणमा भन्सार छलीका सामान आवतजावत हुने गरेको दाबी गरिए पनि तस्करी नियन्त्रणमा खटिएका निकायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।
स्थानीय स्रोत तथा प्रत्यक्षदर्शीको दाबीअनुसार, सीमामा हुने अवैध गतिविधिबारे सूचना संकलन गर्ने जिम्मेवारी पाएका केही घुमुवाको भूमिकामाथि नै शंका उत्पन्न भएको छ।
विशेषगरी सशस्त्र प्रहरीका घुमुवा रोशन झाले सशस्त्र प्रहरीका मधेसका डिआइजीको नाम प्रयोग गर्दै आर्थिक चलखेल गरेको आरोप लगाइएको छ। यसले सम्बन्धित अधिकारीको छविमाथि समेत असर परेको स्रोतको दाबी छ।
भिट्ठामोड–सुगा नाकामा पिकअप आवतजावतबारे प्रश्न
भिट्ठामोड नाकाबाट सुगा हुँदै भारतीय बजार चटनीतर्फ जाने एक भारतीय पिकअपलाई प्रवेश गराउने विषयमा ठूलो रकमको मोलमोलाइ हुने गरेको छ।
उक्त पिकअपमा प्रतिबन्धित लागुऔषध ओसारपसार हुने गरेको आशंकासमेत स्रोतले व्यक्त गरेको छ।
स्रोतका अनुसार, सीमाक्षेत्रमा कथित तस्करीको कारोबार व्यवस्थापनमा मन्तोष पाण्डेको मध्यस्थता रहेको आरोप छ। त्यस्तै, भारतीय नागरिक रुपेश शास्त्रीले त्यसको व्यवस्थापन मिलाउने गरेको दाबी गरिएको छ।
बतनाहा नाकामा पनि उस्तै आरोप
महोत्तरीको सीमावर्ती बतनाहा नाकासमेत अवैध कारोबारका लागि सहज मार्गका रूपमा प्रयोग भइरहेको दाबी गरिएको छ। स्रोतका अनुसार, नितेश ठाकुरको नाम प्रयोग गर्दै भारततर्फ सामान ओसारपसार गर्ने क्यारियरहरूले खुला रूपमा गतिविधि सञ्चालन गरिरहेको आरोप छ।
ठाकुरले भारतमा आपराधिक गतिविधि गरेको र त्यसपछि नेपालमा कारोबारको सञ्जाल विस्तार गरेको दाबीसमेत स्रोतले गरेको छ।
रौतहटदेखि सम्सीसम्म कारोबारको सञ्जाल रहेको दाबी
सीमावर्ती क्षेत्रमा सक्रिय रहेको भनिएको कारोबारको सञ्जाल महोत्तरीमा मात्रै सीमित नरहेको स्रोतको दाबी छ। रौतहटका कारोबारी सुनिल जयसवालले आफ्नो प्रभाव कायम राख्न तस्करीका विभिन्न उपाय अपनाउने गरेको आरोपसमेत लगाइएको छ।
त्यस्तै, महोत्तरीको सम्सी नाकाबाट हुने भनिएको कारोबारको व्यवस्थापनमा महमद मिराजको भूमिका रहेको दाबी गरिएको छ। सीमावर्ती नाकाहरूमा फरक–फरक व्यक्तिको नाम जोडिँदै आए पनि ती गतिविधिमा कसको संलग्नता छ र सम्बन्धित निकायले कस्तो निगरानी गरिरहेका छन् भन्ने विषय स्पष्ट हुन सकेको छैन।
निगरानी गर्ने निकायमाथि नै प्रश्न
सीमावर्ती नाकाबाट भन्सार छली तथा प्रतिबन्धित वस्तुको ओसारपसार हुने गरेको आरोप सार्वजनिक भइरहँदा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार प्रशासनको निगरानी प्रणालीमाथि प्रश्न उठेको छ।
यदि दैनिक ठूलो परिमाणमा अवैध कारोबार भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकायको सक्रियता र अनुगमनको प्रभावकारिताबारे छानबिन आवश्यक देखिन्छ।
विशेषगरी, सूचना संकलनका लागि परिचालित जनशक्तिको भूमिकामाथि नै प्रश्न उठेपछि सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ।
सीमामा खटिएका कर्मचारीको सम्भावित मिलेमतो, आर्थिक लेनदेन र प्रतिबन्धित वस्तुको ओसारपसारसम्बन्धी आरोप पुष्टि भए कानुनअनुसार कारबाही हुनुपर्छ।
समाज
थप सामाग्री
स्मार्ट घर बनाउनेलाई नक्सापास दस्तुरमा शतप्रतिशत छुट, सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्मको प्रस्ताव
१ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बढ्दो सहरीकरणलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले…





