
खगेन्द्र सुनारबारे थप खुलासा

संविधानले रीतिथिति, परम्परा, धर्म, जातब्यवस्थाका आधारमा सामाजिक बिभेदको शिकार बनेका केही समुदायलाई हल्का राहतको व्यवस्था गरेको छ । सोहीबमोजिम आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा दलित समुदायले केही प्राथमिकता पाएको छ । तर, पछिल्लो केही घटनाले भने जातका हकमा संविधानले दिएको विशेष अधिकारको अनुचित प्रयोग हुन थालेको देखाएको छ ।
विडम्बना ! उच्च पदमा पुगेका दलितमाथि कुनै आरोप लागेमा वा अपराधमा जोडिएमा जातलाई अगाडि ल्याइन्छ । ‘दलित भएकाले आरोप लगाइयो’, ‘दलित भएकाले फसाउन खोजियो’, ‘दलित माथि गएको समाजले देख्नै सक्दैन’ लगायतका टिप्पणीले सामाजिक सञ्जाल छपक्कै पारिन्छ ।रास्वपा सांसद खगेन्द्र सुनार धम्कीयुक्त अडियो काण्डमा तानिएपछि जातीय टिकाटिप्पणी झनै बढेको छ । राजदूत सिफारिसमा आर्थिक चलखेल गरेको आरोप सेलाउन नपाउँदै उनको विवादास्पद अडियो जनआस्थामार्फत बाहिरिएको छ ।
बागमती प्रदेश सरकारकी एक पूर्व राज्यमन्त्रीलाई उनले तथानाम गालीगलौज गरेको काण्डमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले छानबिन अगाडि बढाएको छ । सङ्गसङ्गै जात देखाएर उनको बचाउ पनि गरिँदैछ । ‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक उनी साङ्लोसहित माइतीघरमा धर्ना बसेपछि आम नागरिकको नजरमा परेका थिए ।
‘दलितलाई खै ?’ भन्दै सडकबाट सरकारलाई प्रश्न सोध्ने उनी अहिले आफैं सांसद छन् भने उनकै पार्टीको एकल सरकार छ । तर, गणेश नेपालीजस्ता दलितले राजधानीको सडकमा आफैंमाथि पेट्रोल खन्याएर आगो लगाउँदा चुइँक्क बोलेनन् । जसले एउटा गम्भीर प्रश्न उठाएको छ–विगतमा उनले दलितका लागि उठाएको आवाज स्वार्थकेन्द्रित थियो ?
एकताका कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आवध्द उनको बेग्लै पार्टीका तत्कालीन महामन्त्री दधिराम परियार भन्छन्, ‘जुनसुकै पद वा पार्टीमा रहे पनि आफ्नो समुदायको कुरा उठाउँदा के फरक पर्छ र ? तर, उनी स्वार्थकेन्द्रित देखिए ।’ खगेन्द्रले २०८२ मंसिर २४ गते “हाम्रो पार्टी, नेपाल“ निर्वाचन आयोगमा दर्ता गरेका थिए । केही समयमै सो पार्टी कुलमानको “उज्यालो नेपाल“ मा मिसियो ।
कुलमानकै चिन्ह लिएर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा लड्ने सहमति भयो । तर, उनी टिकट पाइने भएपछि रास्वपातिर लागे । जसका कारण “हाम्रो पार्टी“ बाट उज्यालोतिर गएकाहरू अलपत्र परे । उनले धोका दिएको महसुस भएकाहरू रास्वपामा आएनन् । अहिले पनि ७० प्रतिशत उज्यालोमै छन् ।
महामन्त्री परियार, भरत सुनुवार, सहमहामन्त्री जनकबहादुर जनाला, विवेक पासवान, चञ्चला पराजुलीलगायत उज्यालोको विभिन्न जिम्मेवारीमा छन् । हाम्रो नेपाल पार्टीमा हुँदा भारत प्रवास हेर्ने जनालालाई उज्यालोले सोही जिम्मेवारी दिएको छ । उनी भारत प्रवास संगठनको प्रमुख छन् । तर, खगेन्द्रसँगै रास्वपातिर गएकाहरूको साह्रै कन्तबिजोग छ ।
खगेन्द्र सांसद बने पनि उनीसँगै रास्वपामा प्रवेश गरेकाहरूले कुनै जिम्मेवारी पाएका छैनन् । उनीहरूले खगेन्द्रले आफूहरूलाई खुड्किलो मात्र बनाएको गुनासो पोख्न थालेका छन् । एक जना भन्छन्, ‘हामी मिलेर चुनावमा जानुपर्छ भनेपछि उज्यालोमा गएर मिसियौं । टिकट पाइने भएपछि उहाँ रास्वपातिर लागेर आफू सांसद बन्नुभयो, हामीलाई केही न केही ।’
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा श्रममन्त्री बन्न उनले ऊर्जामन्त्री घिसिङ्गमार्फत निकै कसरत गरे । तर, विभिन्न अदालतमा उनको मुद्दा बिचाराधीन रहेको थाहा पाएपछि कुलमान पछि हटे । त्यतिबेला खगेन्द्रलाई काँध हालेर हिँड्ने प्रेम बिक फरार छन् । ललित सुनारलाई भने कारागारमा राखिएको छ ।
उनीमाथि दलितका नाममा पैसा उठाएको आरोप पनि छ । बेलायतले छाडेपछि हिन्दुस्तानको संविधान बनाउने भीमराव अम्बेडकर होउन् या मन्त्री रामबिलाश पासवान–दक्षिणी छिमेकी रास्ट्रमा दलितहरूको ठूलो जनसंख्या छ । दलित अभियन्ता हुँदा भारत गइरहने उनको खर्च अपारदर्शी छ भनिन्छ । उनी कुन खर्चमा त्यता आउजाउ गर्थें ? उनीसँगै हाम्रो पार्टी नेपालमा काम गरेका नेताहरू बेखबर छन् । दलित अभियन्ता हुँदादेखि तथानाम बोल्दै आएका उनको आनीबानी र बोलीमा सांसद बनेपछि समेत परिवर्तन पाइन्न ।
महिला वकिललाई ‘ठमेलकी बारवाली’ भन्ने उनीविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । १२ पटक पेशी चढिसकेकोमा अदालतबाट अडियो प्रमाण नै गायब पारिएको छ । उनले सिन्धुलीका एसपीलाई घिसार्ने धम्की दिएका थिए । अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा धरौटी बुझाएर छुटेका हुन् ।
आफूलाई दलित अभियन्ता भनेर चिनाउने उनले अडियोमा ती दलित माननीयलाई जातको विषयमा अपशब्द बोलेको सुनिन्छ । चर्को स्वरमा मनलाग्दी बोल्दा गौरव महसुस गर्ने उनका काण्डहरू बाहिरिने क्रम जारी रहेपछि ‘दलितको छोरो भएर फसाउन खोजियो’ लगायतका टिप्पणी गर्न थालिएको छ । तर, यहाँ कुरा दलितको होइन, सार्वजनिक पदमा पुगेका जिम्मेवार व्यक्तिका क्रियाकलापको भइरहेको छ । यसरी आफ्ना गलत हर्कत ढाकछोप गर्नका निम्ति दलितले संघर्ष गरेर ल्याएको अधिकारको अनुचित प्रयोग गर्न खोज्नुलाई संविधानको उपहास मानिएको छ ।
(जनआस्था साप्ताहिकको कार्तिक ११ गते बुधबारको अंकमा प्रकाशित)
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी बर्दीमा विवादको दाग : एसपी रुगम कुँवरको विगत फेरि चर्चामा, भक्तपुर इन्काउन्टरदेखि ६० किलो सुन तस्करी अनुसन्धानसम्म गम्भीर प्रश्न !
-
आज कार्तिक १६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
२ दिन अगाडि
3.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…





