प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, भोलि मोदीसँग उच्चस्तरीय वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ सदस्य रहनेछन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ।

प्रधानमन्त्री शाह भारतीय समयअनुसार आज अपराह्न ३ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिएका छन्।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल पुग्नेछन्। त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। पहिलो दिनका लागि यसबाहेक अन्य औपचारिक भेटघाट तय गरिएको छैन।

भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाट हुनेछ। बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि उनी भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताका लागि हैदरावाद हाउस पुग्नेछन्।

त्यहाँ दुवै देशका प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता हुनेछ। वार्ताअघि शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै छलफल गर्ने तयारीसमेत छ।

भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ः२५ बजे दुवै प्रधानमन्त्रीको उपस्थितिमा दुई देशबीच भएका सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

मोदीसँगको भेटवार्तामा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत विषयमा आर्थिक सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यसक्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यमार्फत सम्पन्न भएका परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।

भ्रमणको दोस्रो दिन नै अपराह्न ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने भेटपछि अपराह्न ४ः५० बजे उनी नयाँदिल्लीबाट नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहित र दुई देशबीचको पारस्परिक सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहेको जनाएको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय छलफल तथा समझदारीबाट व्यापार, ऊर्जा, पूर्वाधार, लगानी र अन्य प्राथमिकताप्राप्त क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)…

TOP
30 Shares